१४ बैशाख २०८१, शुक्रबार

राजीनामा नआएपछि दोस्रो चरणको आन्दोलनको तयारी

Nepal Bar Association

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागसहित आन्दोलन गरिरहेका नेपाल बार एसोसिएसनले विरोधका कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

सोमबार बिहान साढे १० बजे न्यायपालिका शुद्धीकरण अभियानमा एक घन्टा कालोपट्टीसहितको आन्दोलन तय भएको भन्दै बारले काठमाडौँ उपत्यकामा रहेका कानुन व्यवसायीलाई सहभागी हुन आह्वान गरेको छ । बारले गएको बुधबारसम्म दिइएको अल्टिमेटममा पनि प्रधानन्यायाधीश जबराबाट राजीनामा नआएपछि दोस्रो चरणको आन्दोलनको तयारी गरेको हो ।

बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि १७ गतेसम्म सर्वोच्च अदालतमा केन्द्रित आन्दोलन गरेको थियो । आन्दोलनको भावी रणनीतिका लागि बारले आइतबार देशभरिका एकाइका अध्यक्ष, सचिवहरुसँग भर्चुअल छलफल गरेको थियो ।

परामर्श भइरहेको र सुझावको आधारमा थप विरोधका कार्यक्रम पछि तय गरिने बारले जनाएको छ । सर्वोच्चमा प्रधानन्यायाधीश जबराविरुद्ध न्यायाधीशहरुले इजलास बहिस्कार गर्दै आएका छन् । उनीहरुको समर्थनमा बारले पनि संघर्ष गरिरहेको छ ।

केही वकिलहरुले भने न्यायालयलाई अनावश्यक विवादमा तान्न खोजेको भन्दै हड्तालमा रहेका न्यायाधीशहरुलाई इजलासमा फर्कन दबाबमूलक कार्यक्रम गरिरहेका छन् ।