७ बैशाख २०८१, शुक्रबार

चार लाख ४३ हजार नगदसहित १६ जना पक्राउ

arest

नेपाल प्रहरीले रु चार लाख ४३ हजार ५०३ नगदसहित १६ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–१४ पुरानो नैकापस्थित शङ्कर थापाको घरबाट जुवा खेलिरहेको अवस्थामा १६ जनालाई शनिबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चन्द्रागिरिका ५२ वर्षीय पुष्कर थापा, ४६ वर्षीय पूर्णबहादुर बस्नेत, ४१ वर्षीय सुदर्शन विडारी, ४६ वर्षीय लव कार्की, ४४ वर्षीय सुदामा केसी, ३१ वर्षीय विजय बुढाथोकी, ५० वर्षीय रवीन्द्र थापा, ४३ वर्षीय राजन खत्री, ३६ वर्षीय विश्वास जङ्ग कार्की, ४० वर्षीय सन्जु थापा, ३८ वर्षीय निरञ्जन शाह ठकुरी र ४४ वर्षीय अष्टमान महर्जन रहेका छन् ।

यस्तै, चन्द्रागिरिकै ४१ वर्षीय शङ्कर थापा, निरञ्जन केसी, ४७ वर्षीय गणेश रसाइली र ३६ वर्षीय कृष्णबहादुर मगर रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

पक्राउ परेकासँग प्रहरीले नगद, २० बुक तास र विभिन्न रङ्गका क्वाइन बरामद गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताउनुभयो । रासस