७ बैशाख २०८१, शुक्रबार

सात महिनापछि हुम्लामा नेपाल एयरलाइन्सको उडान सुरु

6187795a76690 humla

नेपाल एयरलाइन्सले बन्द भएको सात महिनापछि हुम्लाको सिमकोटका लागि उडान भरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेमबहादुर आलेले केही दिन अगाडि पश्चिम नेपालका हिमाली जिल्लामा उडान भर्न निर्देशन दिएपछि लामो समयपछि सो एयरलाइन्सले उडान भरेको हो ।

कोरोना कहरले बन्द भएको सात महिनापछि नेपाल एयरलाइन्सले हुम्लाका लागि सहुलियत उडान भर्न सुरु गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो । यसअघि सो एयरलाइन्सलाई पटक पटक उडानका लागि हुम्लावासीले अनुरोध गर्दा उडान हुन सकेको थिएन ।

नेपाल एइरलाइन्सले जहाज संख्या कम भएकाकारण उडान भर्न नसकिएको जनाउँदै आएको थियो । केही दिन अगाडि मन्त्री आलेले पश्चिम नेपालको पहाडी तथा हिमाली जिल्लामा उडान नियमित भर्न निर्देशन दिनुभएको थियो । आईतबारबाट जहाजले उडान भर्न सुरु गरेको छ ।

यसले नेपालगंजबाट आउने यात्रुलाई सहज भएको छ । यसअघि हप्ताको एक उडान भर्दै आएको सो एयरलाइन्सले अब नियमित उडान भर्ने जनाएको छ । नेपाल एयरलाइन्सले उडान सुरु गरेपछि नेपालगंजबाट सहुलियत दरमा यात्रुहरुले यात्रा गर्न पाउनु भएको छ । सिमकोटमा यात्रुको चाप भएकोबेला केही रुपमा सहज भएको छ । अघिल्ला वर्ष दशै तिहारमा नियमित उडान भर्ने नेपाल एयरलाइन्स दशैभरि उडान भर्न सकेको थिएन ।