१५ चैत्र २०८०, बिहीबार

तिहार सकिए लगत्तै तराई मधेसका जिल्लामा छठ पर्वको रौनक सुरु

chhat tarai

तिहार सकिए लगत्तै तराई मधेसका जिल्लामा छठ पर्वको तयारी पनि सुरु भएको छ।

तराई मधेसका बजारहरुमा अहिले छठ पूजा र पर्वका लागि चाहिने पुजा सामाग्री, बाँसका सामाग्री, माटाका भाडा, फलफूल, खाद्य सामग्री, नयाँ लुगाकपडा किनमेल गर्न पसलहरुमा ग्राहकहरुको भीड बढेको छ।

दीपावली सकिए लगत्तै चार दिनपछि नै छठ सुरु हुने हुँदा बजारमा छठ पूजामा प्रयोग हुने सामाग्री किन्नेको भीड लागेको हो । छठ पूजामा बाँसको चोयाबाट बनाइएका छैठा (टोकरी), नाङलो र सुपली, माटोको कलश, ढकनी, कोशी दियो, फलफूल, तेल, मशाला जस्ता खाद्यान्नहरु आवश्यक पर्छ ।

वीरगन्जको घण्टाघर चोकस्थित सडक छेउमै छठमा प्रयोग हुने बाँसको चोयाबाट बनाइएका सामाग्रीका पसलहरु थापिएका छन्। त्यस्तै विपी एदान परिसर बाहिर माटाका सामाग्रीहरुका करिब चार दर्जनको संख्यामा पसलहरु राखिएका छन् ।

मधेसको सबै भन्दा ठूलो पर्व छठमा नयाँ लुगाकपडा लगाउनु पर्ने चलन रहेकाले वीरगन्जका कपडा पसलहरुमा पनि ग्राहकहरुको घुइँचो बढेको छ।

छठ पर्व सोमबारदेखि विधिवत रुपमा सुरु हुने भएपनि बजारमा किनमेल गर्नेहरुको शनिवारदेखि नै चहलपहल बढेको व्यपारीहरुले पनि बताएका छन्।

भोजपुरी भाषा र संस्कृतिविद् उमाशंकर द्विवेदीले पनि तराई मधेसमा छठ मनाउनेहरुले दीपावली सकिएलगत्तै छठ पूजाको किनमेल गर्ने क्रम सुरु हुने बताए।

‘लक्ष्मीपूजाको ठिक चार दिन पछि नै छठ पूजा विधिवत रुपमा सुरु हुन्छ, दिपावली सकिए लगत्तै छठका लागि घरमा अरु कामहरु पनि थुप्रै हुन्छन्’, उनले भने, ‘त्यसैले छठको दुई÷तीन दिन पहिलादेखि नै बजारमा किनमेल सुरु हुन्छ।’

त्यस्तै छठ पूजा लागि अहिले पोखरी, नदी लगायतका जलाशयमा सरसफाइ गर्दै छठघाट बनाउने तयारी पनि तीव्र रुपमा अघि बढिरहेको छ। लाखौँ रकम खर्चेर जलाशयमा सरसफाइ, सजावट र व्यवस्थापनको काम भैरहेका छन । वीरगन्जको घडीअर्वा, रानीघाट, मुर्ली, छपकैया, रामगढवा, बहुअरी, नगवा, पिपरा, भिस्वा लगायतका पोखरी छेउमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष सजावट गर्ने क्रम सुरु भैसकेको छ ।

अघिल्लो साल कोरोना महामारीका कारण धुमधामकासाथ छठ पर्व मनाउन नपाइएका कारण यसपटक वीरगन्जका पोखरी र नदी छेउका स्थानहरुमा विशेष सजवाट गरी छठघाट निर्माणको काम भैरहेको छ ।

    सम्बन्धित समाचार...