१३ बैशाख २०८१, बिहीबार

तिहारका बेला भरतपुर अन्धाकार बनेपछि आफै आए कुलमान

kulmanmain

भरतपुर सवस्टेशनमा दुईवटै ट्रान्सफर्मर पड्किएर विद्युत अवरुद्ध बनेपछि नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ्गले सवस्टेशनको निरीक्षण गरेका छन् ।

आज बुधबार निर्देशक घिसिङ्गले सवस्टेशनको निरीक्षण गरेका हुन् । उनले कर्मचारीहरुलाई निर्देशन दिँदै लक्ष्मिपूजाका दिन जसरी पनि विद्युत दिने गरी काम गर्न भनेका छन् । उनले कुनै पनि बाहनामा काममा ढिलाइ नगर्न निर्देशन दिँदै आवश्यक पर्ने सम्पूर्ण कुराहरुको व्यवस्था आफूले गर्ने बताए ।

सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै कुलमानले दुईवटै ट्रान्सफर्मर पड्किनुको कारणबारे अनुसन्धान हुने बताए । ३०/३० एमभिएका दुई वटा ट्रान्सफर्मर पड्किएका हुन् । ती ट्रान्सफर्मर दुई वर्षअघि मात्र राखिएका थिए ।

पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले खरिद गरेका नयाँ ट्रान्सफर्मरहरुमा छिट्टै समस्या देखिने क्रम बढ्दै गएको छ । नयाँ ट्रान्सफर्मरमै समस्या देखिनुको कारण माग गर्दा निर्देशक घिसिङ्गले प्राविधिक समस्याहरु बेलाबेलामा आइरहने बताए ।

अहिले भरतपुर सवस्टेशनमा दुई वर्षअघि बिग्रिएर थन्किएको २२ एमभिएको ट्रान्सफर्मरलाई मर्मत गरी पुनः जोड्ने काम भइरहेको छ । निर्देशक घिसिङ्गले उक्त ट्रान्सफर्मरले काम गरेको खण्डमा भरतपुरमा उद्योगको लाइन काटेर घरहरुमा वितरण गर्न पुग्ने बताए । उक्त ट्रान्सफर्मरमा पुनः कुनै समस्या नदेखिएको खण्डमा आज राति १० बजेबाट घरहरुमा विद्युत पु¥याइने निर्देशक घिसिङ्गले बताएका छन् ।

उनले उद्योग क्षेत्रमा पनि विद्युत पु¥याउनका लागि पोखराबाट अर्काे ट्रान्सफर्मर ल्याउन लागिएको बताए । भोलि बिहानसम्म उक्त ट्रान्सफर्मर भरतपुर आइपुग्ने बताउँदै उनले भोलि बेलुकासम्म जोडि सकिने संभावना भएको बताए ।

दुई दिनदेखि विद्युत अवरुद्ध हुँदा भरतपुरको जनजीवन प्रभावित बनेको छ । ४/५ दिनअघि एउटा ट्रान्सफर्मर पड्किएको थियो भने हिजो पुनः अर्काे ट्रान्सफर्मर पड्किएको हो । पड्किएको ट्रान्सफर्मर फेर्न खोजिएको थियो । फेर्नका लागि काम हुँदै गर्दा पुनः अर्काे ट्रान्सफर्मर पनि पड्किँदा विद्युत पूर्णरुपमा अवरुद्ध भएको हो ।

भरतपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर राजिवकुमार सिंहका अनुसार भरतपुरमा दैनिक १४०० एम्पियर विद्युत खपत हुँदै आएको छ । दुईवटा ३०/३० एमभिएका ट्रान्सफर्मरलाई त्यो लोड धान्न कुनै समस्या थिएन । तर एकाएक ट्रान्सफर्मरमा समस्या देखिएको हो ।

आज फेर्न लागिएको २२ एमभिएको ट्रान्सफर्मरले ८०० एम्पियरसम्मको लोड धान्न सक्दछ । ८०० एम्पियर विद्युत भएमा भरतपुरका घरहरुमा सजिलै पुग्ने प्रमुख सिंहको भनाइ छ ।

प्रमुख सिंहले अहिले टाँडी, चनौली र कावासोतीको सवस्टेशनबाट विद्युत मागेर भरतपुपरका अस्पतालहरुमा मात्र वितरण गरिएको जानकारी दिए । उनले अन्य सवस्टेशन नजिक रहेका केही वस्तीहरुमा पनि ती सवस्टेशनबाट विद्युत वितरण गर्ने व्यवस्था मिलाइएको बताए ।

लक्ष्मिपूजाको दिन भरतपुरवासीलाई बत्ति बाल्न व्यवस्था मिलाउने गरी आफूहरुले दिनरात काम गरिरहेको उनको भनाइ छ ।