२३ बैशाख २०८१, आईतवार

उपत्यकाबाट बिहानै ३०२ सवारीसाधन नियन्त्रणमा

nepal traffic police
फाइल फोटो

मोटरसाइकल निकाल्यो कि झ्याप्पै समातियो, अब सवारीसाधन ‘होल्ड’ गरिन्छ

विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि लागू गरिएको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही थालेको छ । मंगलवारबाट सरकारले देशभर नै लकडाउन घोषणा गरेको हो।

लकडाउनको समय कुनै पनि सार्वजनिक तथा निजी सवारीसाधन अनुमति नलिइ चलाउन पाइँदैन। तर, उपत्यकाभित्र मंगलवारको तुलानामा बुधवार बिहान धेरै सवारी साधन गुडेको पाइएको छ।

लकडाउन उल्लङ्घन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ। अटेर गरी लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका ३०२ सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए।

महानगरीय ट्राफिक प्रहरीले कालिमाटी क्षेत्रबाट ३३, गौशलाबाट २०, कपनबाट १९, नयाँ बसपार्कबाट २६, बल्खुबाट २० वटागरी ३ सय २ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिएकामध्ये अधिकांश दुई पाङ्ग्रे सवारी रहेका छन्। २ सय ६१ वटा दुई पाङ्ग्रे र ४१ वटा चारपाङग्रे रहेको प्रहरीले जानकारी दिएको छ।

यसअघि मंगलबार नियन्त्रणमा लिइएका सवारी साधनलाई केही समयपछि छाडिएको थियो । तर, सवारीसाधन तीब्र रुपमा सडकमा निकाल्ने क्रम बढेपछि नियन्त्रणमा लिइएका सवारी अहिलेलाई ‘होल्ड’ गरिएको महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाल बताउँछन् ।

यसरी नियन्त्रणमा लिएका सवारी साधनलाई सम्झाइबुझाइ घरतर्फ नै फर्काइएको प्रहरीले जानकारी दिएको छ। साथै, घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाइबुझाइ गरी घरतर्फ नै फर्काइएको छ।

अत्यावश्यक सेवा र अनुमतिप्राप्त सवारीसाधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र घरबाट ननिस्कन समेत प्रहरीले आग्रह गरेको छ।