
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धन सरकारमा कुनै प्रकारको विवाद वा गठबन्धन पार्टीहरूका बिचमा असन्तुष्टि नभएको बताउनुभएको छ ।
अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै गठबन्धन सरकार स्मुथली रुपमा चलिरहेको बताउनुभयो ।
उहाँले न्यायालयमा उत्पन्न भएको समस्याका बारेमा दलहरूका बिचमा साझा धारणा तयार गर्नका लागि चाँडै सर्वदलीय बैठक बस्न लागेको बताउनुभयो ।
न्यायालयको विवादका बारेमा दलहरूको साझा अवधारणा नै आउने अध्यक्ष प्रचण्डले प्रस्ट पार्नुभयो ।
आसन्न राष्ट्रिय सभाको चुनावमा गठबन्धन दलहरूका बिचमा सहमति गरेर नै योग्य एवं सक्षम साझा उम्मेदवार तय गरिने पक्षमा गठबन्धन दलहरू भएको माओवादीका अध्यक्ष प्रचण्डले बताउनुभयो ।
उहाँले वर्तमान संसद् पूर्ण अवधि चल्ने बताउँदै मध्यावधि हुन्छ भन्ने कुनै प्रकारको भ्रममा नपर्नका लागि आम देशबासीमा आग्रह गर्नुभयो ।