६ बैशाख २०८१, बिहीबार

आफूहरूले लोकतन्त्र जोगाउन नयाँ पार्टी निर्माण: अध्यक्ष नेपाल

madhav nepal
फाइल फोटो

नेकपा एकीकृत (समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्र जोगाउन आफूहरूले नयाँ पार्टी निर्माण गरेको बताउनुभएको छ ।

नेकपा एकीकृत(समाजवादी) विराटनगर नगर कमिटीद्वारा आयोजित दसैँ, तिहार, नेपाल संवत्, छठ, इद, उभौली र ल्होसार पर्वको उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रममा उहाँले जनताले निर्माण गरेको संविधानको संरक्षण र लोकतन्त्रलाई सबल बनाउन पार्टी निमार्ण गरेको उल्लेख गर्नुभयो ।

प्रदेश नं १ मा गठबन्धन दलहरूको बिचको सहमतिमा एक हप्ताभित्र आफ्नो पार्टीका नेता राजेन्द्र राईको नेतृत्वमा सरकार गठन हुने उहाँको भनाई छ ।

स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ्गले सरकारले बेमौसमी वर्षाबाट क्षति भएको धान बालीको क्षतिपूर्तिका लागि ६५ प्रतिशत राहत दिने निर्णय भएको जानकारी दिनुहुँदै वर्तमान सरकारले जनताको हितमा काम गरिरहेको बताउनुभयो ।

एकीकृत समाजवादी पार्टी, प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले कात्तिक १६ गते आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन हुने जानकारी दिनुभयो ।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडा, प्रदेश सदस्य सरिता थापा लगायतले देश र जनताप्रति उत्तरदायी एकीकृत समाजवादी देशभक्त पार्टी भएको बताउनुभयो ।