१४ बैशाख २०८१, शुक्रबार

नेपाली कांग्रेसमा नेतृत्व पुनः दोहाेरियाे भने पार्टीलाई ठूलाे क्षति पुग्छ : नेता सिंह

prakashman singh scaled
फाइल फोटो

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेतृत्वलाई पदमा दोहर्याउन नहुने बताउनुभएकाे छ ।

नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले आज काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रमा बौल्दै नेता सिंहले अवसर पाउँदा पनि काम नगर्ने नेतृत्व दोहर्याए पार्टीलाई झनै क्षति हुने भन्दै यस्तो बताउनुभएकाे हाे ।

उहाँले १३औँ महाधिवेशनपछि नेतृत्व पाएकाले जिम्मेवारी पूरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको बताउनुभएकाे छ । पटकपटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पूरा गर्न नसक्ने नेतालाई पुनः जिम्मेवारी दिए पार्टीको अवस्था झनै बिग्रने उहाँको भनाइ थियो ।

साथै नेता सिंहले अझै पनि केही जिल्लामा क्रियाशील सदस्यता विवाद कायम रहेकाे बताउँदै विधि र नियमपूर्वक समाधान गर्नुपर्ने बताउनुभयाे । १४औँ महाधिवेशनलाई कमिकमजोरी सुधार गर्ने मौकाको रुपमा लिनुपर्ने उहाँको भनाइ छ ।

अर्को प्रसंगमा उहाँले न्यायालयमा देखिएको समस्या संविधानको मर्म र भावना अनुसार नै समाधान गर्नुपर्ने समेत बताउनुभयाे ।

युवा नेता एवं नेपाली कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समतिका सभापति बाबुराम आचार्यले नेपाली कांग्रेसको १४औँ महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने र कांग्रेसमा भएको गुटबनदी अन्त्य नभए कांग्रेस बलियो नहुने हुँदा उक्त गुटबन्दी हटाउँदै पार्टी बलियो बनाउने अभियानमा लाग्न नेता प्रकाशमान सिंहको भूमिका महत्वपूर्ण हुने बताउनुभयाे ।

नेता आचार्यले वीर गणेशमानका छोरासमेत रहनुभएका नेता प्रकाशमान सिंह काठमाडौंका मात्र नभएर देशकै नेता भएकाले उहाँलाई त्यहीअनुसार अगाडि बढे प्रदेश नम्बर १ का कांग्रेस नेता तथा कार्यकर्ताले नेतृत्वका लागि खुलेर सहयोग गर्न तयार रहने बताउनुभयाे ।