१६ चैत्र २०८०, शुक्रबार

विकास आयोजनाले गति लिएपछि सरकार ढालियोः अध्यक्ष ओली

60f964c6c092c kp sharma oli 1
फाइल फोटो

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विकास आयोजनाले गति लिएपछि आफू नेतृत्वको सरकारलाई ढाल्ने काम भएको बताउनुभएको छ । देशको विकास देख्न नचाहने शक्तिले आफू नेतृत्वको सरकार ढालेको उहाँले टिप्पणी गर्नुभयो ।

एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको शनिबार यहाँ आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभयो । लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूभाग नक्सामा छापेर फिर्ता ल्याउने पहल सरकारले गरेपछि धेरैलाई असह्य भएको उहाँले बताउनुभयो ।

तुइन काटेर जयसिंह धामीलाई महाकालीमा खसाउँदा समेत न्याय दिन नसक्नु लाजमर्दो भएको चर्चा गर्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले सरकारले छिमेकी मुलुकसँग पहल गर्न नसकेको उहाँले टिप्पणी गर्नुभयो । जनताको मनोबल उठाउने काम आफू नेतृत्वको सरकारले गरेको उहाँले दावी गर्नुभयो ।

अध्यक्ष ओलीले पार्टीभित्र भएको दश बुँदे सहमति इमान्दारितापूर्वक कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो । “मुख्यकुरा पार्टी एकता हो, एकताका लागि नै दशबुँदे गरिएकाले कार्यान्वयन हुन्छ” उहाँले भन्नुभयो ।

असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन भव्यताकासाथ सम्पन्न भएको चर्चा गर्नुहुँदै उहाँले पार्टीको आगामी महाधिवेशन पनि भव्य ढङ्गले सम्पन्न हुने उहाँले बताउनुभयो । एमालेविरुद्ध अहिले गठबन्धन बनाएर दलहरु लागे पनि एमाले एक्लै लड्न तयार रहेको उहाँले बताउनुभयो ।

मुलुकको परिवर्तनका लागि एमाले नै पहिलो शक्ति बन्न आवश्यक रहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले कार्यकर्ता पङ्तीलाई सक्रिय हुन आग्रह गर्नुभयो । समृद्ध नेपाल बनाउन हामी सबै सक्रिय हुनैपर्छ, अरुबाट समृद्ध नेपाल बन्दैन उहाँले भन्नुभयो, “हाम्रो भावना देश र जनताप्रतिको समर्पणको भावना हुनुपर्छ, त्यसका लागि मजबुत पार्टी चाहिन्छ ।”