११ बैशाख २०८१, मंगलवार

आन्दोलनमा अदालत: प्रधानन्यायाधीश राणाले पद नत्यागे बारले आजदेखि देशव्यापी आन्दोलन गर्ने

Nepal Bar Association

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई पद त्याग गर्न आग्रह गरेको छ ।

प्रधानन्यायाधीश राणाले राजीनामा नदिए आजदेखि देशभर आन्दोलन गर्ने चेतावनी बारले दिएको छ । हिजो बसेको नेपाल बार सल्लाहकार समितिको बैठक र त्यसपछि बसेको बार कार्यसमितिको बैठकपछि जारी विज्ञप्तिमा प्रधानन्यायाधीश राणाबाट अब संवैधानिक दायित्व पूरा हुन नसक्ने देखिएकाले राजीनामा दिएर पद त्याग गर्न माग गरिएको हो ।

प्रधानन्यायाधीशले पदबाट राजीनामा नदिए देशभरका बार इकाइमार्फत आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने निर्णय समेत हिजोको बैठकले गरेको छ । नीतिगत रुपमा गर्न सकिने नियमावली, कार्यविधि, मापदण्ड निर्माण समेतका काममा र इजलास नियमित गर्ने कुराहरुमा सुधार नभएको भन्दै बारले आपत्ति जनाएको छ ।

केही मुद्दाहरुमा अस्वभाविक रुपमा पेसी नचढाइ सुनुवाइ गर्न ढिलाइ गरेको, केही मुद्दाहरुमा अविश्वसनीय तरिकाले छिटो पेसी राखी सुनुवाइ गर्ने गरेको, मन्त्रिपरिषद् र संवैधानिक निकायहरुमा हिस्सेदारी खोजेको विषयमा प्रधानन्यायाधीशलाई पहिले नै लिखित तथा मौखिक रुपमा विरोध जनाइएको पनि बारले जनाएको छ ।

प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दलहरु मौन बसेको भन्दै कतिपयले विरोध गरिरहेका छन् । बरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भने, सर्वोच्चभित्रको विषयमा राजनीतिक दलको हस्तक्षेप नहुनुलाई राम्रो मान्नुपर्ने बताउनुभएको छ । न्यायलयको मामिला न्यायकर्मीहरुको भएकाले राजनीतिक दलहरु मौन बस्दा न्यायालयको स्वतन्त्रता कायम रहने उहाँले तर्क गर्नुभयो ।