६ बैशाख २०८१, बिहीबार

राष्ट्रपति भण्डारीद्वारा दशैंकाे अन्तिम दिन नवदुर्गा भवानीको पूजा तथा प्रसाद ग्रहण

RG BHAKTAPUR BIDHYADEVIBHANDARI1634737012

बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका तथा प्रसाद ग्रहण गर्नुभएको छ । राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गर्नुभएको हो ।

राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका नकी इन्दिरा वनमाला र नाइके बिज्रेश वनमालाले नवदुर्गाको पूजा एवं दर्शन गराउनुभएको थियो ।

राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुभएको थियो । राष्ट्रपतिले नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो ग्रहण गर्नुभएको थियो ।

133747211RG BHAKTAPUR BIDHYADEVIBHANDARI 4

नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई उहाँले जनही एक हजार पाँचका दरले दक्षिणासमेत प्रदान गर्नुभयो । राष्ट्रपति भण्डारीलाई तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजुको फूलमाला तथा प्रसाद प्रदान गर्नुभएको थियो । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले राष्ट्रपति भण्डारीलाई ढलौटबाट बनेको गणेशको मूर्ति प्रदान गर्नुभयो ।

राष्ट्रपति नवदुर्गा मन्दिर आउँदा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत, बागमती प्रदेशसभा सदस्य शशिजङ्ग थापा, जिसस प्रमुख गेलाल, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, जिसस उपप्रमुख सरिता कुँवर, तीनवटै नगरपालिकाका उपप्रमुख वीणा बाँस्तोला, जुना बस्नेत, अञ्जनादेवी मधिकर्मी, एमाले जिल्ला अध्यक्ष बचन देउजा, गुठी कार्यालयका प्रमुखलगायतले मन्दिरमा स्वागत गर्नुभएको थियो ।

133837841RG BHAKTAPUR BIDHYADEVIBHANDARI3

देवगणलाई दक्षिणा दिने क्रममा देवगणहरुका तर्फबाट भद्रकाली बन्ने देवगण बालकृष्ण वनमालाले दुई वर्ष अगाडि भक्तपुरको जिसस प्राङ्गणमा राष्ट्रपति भण्डारीले अवलोकन गर्ने गरी प्रदर्शन गरिएको नवदुर्गा नाचको कूल खर्चमध्ये ४८ हजार ३८५ बाँकी रहेकाले उक्त रकम दिलाइदिन राष्ट्रपतिसमक्ष आग्रह गर्नुभयो ।

त्यस्तै, तलेजुका मूल नाइके जोशीले तलेजुका पुजारी, नाइकेलगायत विभिन्न तहमा रहेर कार्यरत व्यक्तिले आर्थिक अभावका कारण जिम्मेवारी छाेड्दै जाँदा तलेजुमा समस्या परेको भन्दै उचित बजेटको व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।