१४ बैशाख २०८१, शुक्रबार

पुन : अवरुद्ध बेसीशहर–चामे सडक

FB IMG 1634660480751

अविरल वर्षाको कारण बेंसीसहर–चामे सडक अवरुद्ध बनेको छ । गत जेठ ३१ गतेपछिको भीषण बाढी पहिरोले क्षतविक्षत बनाएको मनाङतर्फको सडक दसैँअघि मात्र खुलेको थियो ।

करिब चार महिना अवरुद्ध बनेको सडक खुलेपछि सर्वसाधारणले केही राहत महसुस गरेपनि सडक पुन अवरुद्ध बनेको हो । असोज ३१ गतेदेखिको अविरल वर्षापछिको बाढी पहिरोले सडक पुन अवरुद्ध भएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताउनुभयो ।

बाढी पहिरोका कारण मनाङतर्फको अधिकांश खण्डमा बिग्रिएको उहाँले बताउनुभयो । बाढी पहिरोले सडक खण्डको अस्थायी पुल र सडकहरू बगाएको उहाँले जानकारी दिनुभयो । केही ठाउँमा मर्स्याङ्दीमा आएको बाढीले सडक कटान समेत गरेको उहाँले बताउनुभयो । स्याल्क्यु छहराको अस्थायी काठे पुल र तिमाङखोलाको अस्थायी काठे पुलमा क्षति पुर्‍याएको प्रजिअ आचार्यले बताउनुभयो । ‘आइतबारदेखि पानी परिरहेको छ । सोमबार साँझसम्म सवारी साधन चलिरहेको थियो । रातीको पानीले अधिकांश ठाउँमा पहिरो खस्यो । सडक अवरुद्ध छ’ उहाँले बताउनुभयो । ‘पहिरो खसेको चामे गाउँपालिका क्षेत्रमा स्थानीय समुदायको सहयोगमा पैदल यात्रुलाई आवतजावत गर्न सामान्य बाटो बनाएका छौँ ।

मोटरसाइकलसम्म चल्ने खालको बनाएका छौँ । यसले नागरिकलाई केही राहत मिलेको छ ।’ प्रजिअ आचार्यले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी आचार्यको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरूले मङ्गलवार नै बाढी पहिरोको क्षतिको निरीक्षण गरेको थियो। करिब २५ किलोमिटर पैदल यात्रा गरी अनुगमन गरिएको आचार्यले बताउनुभयो । वर्षा भइरहेकाले तत्काल सडक मर्मत गर्न सम्भव नभएको मनाङ प्रशासनले जनाएको छ । वर्षा भइरहेको समयमा मर्मत कार्य गर्दा झन् जोखिम बढ्न सक्ने भएकाले वर्षा रोकिएपछि मात्र काम थालिने बताइएको छ ।

पानी रोकिएपछि एक दिनमा सडक आउजाउ गर्न मिल्ने गरी मर्मत गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । मौसममा सुधार हुने बित्तिकै धारा पानीबाट तालसम्म एउटा, दानाक्यूदेखि तिमाङसम्म एउटा र भ्राताङबाट चामेसम्म एउटा जेसिबी प्रयोग गरी सडक सफा गर्ने योजना रहेको र एकै दिनमा बाटो सुचारु गरिने गरी तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । वर्षा भइरहेकाले मर्स्याङ्दीको बहाव बढ्दा जोखिम हुन सक्ने हुँदा नासो गाउँपालिका १ ताल क्षेत्रमा जनप्रतिनिधिमार्फत नागरिकलाई सचेत रहन भनिएको छ ।

नाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काले चामे गाउँपालिकाको कोतो नजिकैको भीर, थान्चोक र तिमाङबीचको ठाउँमा पहिरो खसेको जानकारी गराउनुभयो ।माथिल्लो मनाङ जाने सडक समेत तलेखुको माथिल्लो क्षेत्रमा मर्स्याङ्दी नदीले कटान गरेपछि सडकमा क्षति पुर्‍याएको छ । सडक अवरुद्ध बनेपछि दसैँ बिदामा मनाङ घुम्न आउने आन्तरिक पर्यटक तथा विदेशी पर्यटक लाईसमेत असर पारेको छ ।