१६ चैत्र २०८०, शुक्रबार

विश्वकप क्रिकेटमा बंगलादेश विजयी, ओमान २६ रनले पराजित

GettyImages t20 cricket

आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा बंगलादेश विजयी भएको छ ।

विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो जित निकाल्ने क्रममा बंगलादेशले ओमानलाई २६ रनले पराजित गरेको हो । १ सय ५४ रनको लक्ष्यसहित मैदान ओर्लेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन मात्र जोड्न सक्यो ।

उसका लागि जतिन्दर सिंहले सर्वाधिक ४० रन बनाउँदा कश्यप प्रजापतिले २१ रन बनाए । बलिङमा बंगलादेशका मुस्तफिजुर रहमानले ४ तथा शाकिब अल हसनले ३ लिए ।

यसअघि ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा अलआउट हुँदै १ सय ५३ रन बनाएको थियो । बंगलादेशका मोहमद नाइमले ६४ रनको अर्धशतकीय इनिंग्स खेले ।

त्यस्तै शाकिब अल हसन ४२ रनमा पेभेलिएन फर्के । ओमानका बिलाल खान र फायज बटले समान ३–३ विकेट हात पारे । जितसँगै पहिलो चरणको समूह बी मा रहेको बंगलादेशले २ खेलमा २ अंक जोडेको छ ।

बंगलादेश पहिलो खेलमा स्कटल्याण्डसँग ६ रनले पराजित भएको थियो । उता आयोजक ओमानले पहिलो हार व्यहोरेको छ ।

ओमानले पहिलो खेलमा पपुवा न्युगिनीलाई १० विकेट हराएको थियो । प्रतियोगितामा आज नामिबिया र नेदरल्याण्ड्स तथा श्रीलंका र आयरल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।

    सम्बन्धित समाचार...