
बेमौसमी वर्षाले सप्तरी सदरमुकाम राजविराज नगरको अधिकांश सडक, संघसंस्था र कार्यालय जलमग्न भएको छ ।
पानी निकासको उचित प्रबन्ध नहुँदा राजविराज नगरपालिकाको बजार क्षेत्रमा पर्ने सिरहा रोड, अदालत रोड, पानी ट्याङ्कि रोड, रुपनी रोड लगायत क्षेत्र जलमग्न भएको हो ।
कोशी फिल्ड सेन्टर, कृषि ज्ञान केन्द्र, शिक्षा समन्वय इकाई शाखा, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र, नेपाल रेडक्रस सोसाइटी शाखा, घरेलु तथा साना उद्योग कार्यालय, बेल्ही भन्सार लगायतका संघसंस्था र कार्यालय पनि जलमग्न भएका छन् ।
बेमौसमी वर्षाका कारण सबैजसो नगर र गाउँपालिकामा धानबालीमा समेत क्षति पुगेको छ ।
मलेकपुरका किसान जिवछ दासले त्यस क्षेत्रमा मात्रै करिब १५ विगहा खेतको धान नष्ट भएको जानकारी दिनुभयो ।