१३ बैशाख २०८१, बिहीबार

प्रहरीलाई झुक्याउन जर्किनमा लागूऔषध

laguausadh1634555642

सुनसरीकाे इनरुवामा लागूऔषध कारोबारीले नयाँ तरिका अपनाएको फेला परेको छ । सखुवागाछी चोकबाट बरामद लागूऔषधले सो तरिकाको खुलासा गरेको हो ।

बन्द जर्किनभित्र लुकाएर बजारतर्फ ल्याउँदै गरेको लागूऔषध प्रहरीले बरामद गरेसँगै कारोबारीको नयाँ तरिका बाहिरिएको हो । प्रहरीले इनरुवा–३ सखुवागाछी चोकबाट ९७ बोतल डाइलेक्स डिसी नामक लागूऔषध बरामद गरेको छ । शङ्काको आधारमा चेकजाँचको क्रममा सखुवागाछी प्रहरीको टोलीले जर्किनभित्र लुकाइएको लागूऔषध फेला पारेको हो ।

प्रहरीले को.२६ प ५८६९ नम्बरको अपाचे मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नरेन्द्रकुमार कार्कीका अनुसार मोटरसाइकल छेक्ने क्रममा सवारी हुत्याएर चालक र पछाडि सवार व्यक्ति भने भागेका छन् ।

फरार रहेका व्यक्तिको खोजी थालिएको कार्कीले बताउनु भयाे । बरामद परिमाण हेर्दा फरार व्यक्तिहरू लागूऔषध कारोबारी हुनसक्ने कार्कीकाे भनाइ छ । उहाँले बरामद भएको मोटरसाइकल र हुलियाका आधारमा उनीहरूको खोजी थालिएको र प्रहरीलाई छल्न जर्किनभित्र लागूऔषध राखिएको हुनसक्ने उहाँले बताउनु भयाे ।

सखुवागाछी प्रहरीका अनुसार चोकतर्फ आउँदै गरेको मोटरसाइकलमा पछाडि बस्ने व्यक्तिले दुईवटा जर्किन बोकेका थिए । शङ्का लागेर चेकजाँचको लागि रोक्ने क्रममा मोटरसाइकल र जर्किन छाडेर दुवैजना भागेका थिए । जर्किनभित्र लागूऔषध राखेर मुख प्लाष्टिकले बाँधिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।