६ चैत्र २०८०, मंगलवार

यी देशमा पनि मनाइन्छ नेपालबाहेक दशैँ

download 1

हिन्दुहरूको महान पर्व दशैँ नेपालमा मात्र नभएर अन्य केही देशमा पनि मनाइन्छ । हिन्दुहरुको बाहुल्यता भएका समुदायले नवरात्रीसम्म विभिन्न शक्ति पीठमा पूजा गर्छन् ।

छिमेकी मुलुक भारतका विभिन्न राज्यमा फरक फरक ढंगले दशै मनाइन्छ । भारतमा विशेषगरि नवदुर्गाको पुजा गरिन्छ । सिक्किम, दार्जलिङलगायतका नेपालभाषीको बाहुल्यता रहेको क्षेत्रमा टिका लगाइन्छ । भारतबाहेक वंगलादेश, बर्मा, थाइल्याण्ड, भुटान, श्रीलंका र मलेसियामा पनि दसैं मनाइन्छ । मनाउने शैली फरक भए पनि अधिकांशले नवदुर्गाको पुजा आराधना गर्छन् ।

पश्चिम बंगालमा नवदुर्गा पूजाको आरधना गरेर मनाइन्छ । बंगालमा षष्ठीदेखि पाँच दिनसम्म यो पर्व मनाइन्छ । सप्तमी, अष्टमी र नवमीमा दुर्गाको पूजा हुन्छ ।

आंध्र प्रदेश, तमिलनाडु र कर्नाटकमा दश दिनसम्म दसैँ मनाइन्छ । लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ । पहिला तीन दिन धन र समृद्धिकी देवी लक्ष्मीको आरधना गरिन्छ भने दोस्रो तीन दिन विद्याकी देवी सरस्वतीको पुजा गरिन्छ र अन्तिम दिन शक्तिकी देवी दुर्गाको पुजा गरिन्छ ।

गुजरातमा दसैको अवसरमा गरबा नृत्य गरिन्छ । त्यस्तै, महाराष्ट्रमा देवीको पुजा आराधना गरेर मनाइन्छ । कश्मीरका अल्पसंख्यक हिन्दूले नवरात्रि मनाउँछन् । परिवारका सबै वयस्क नौ दिनसम्म उपवास बस्छन् । भक्तजनरू नवरात्रीभर माता भवानीको दर्शन गर्छन् । नवरात्रीमा तालको बीचमा रहेको एउटा माता भवानीको मन्दिरमा दर्शन गर्न जानेको भीड उल्लेख्य हुन्छ ।

करिब १ लाख नेपालभाषी रहेको बर्मामा पनि दसै मनाइन्छ । नेपालभाषीको बाहुल्यता रहेको पूर्वराजधानी सहर यांगुन, मन्डला पिन यु एलवीन, मोगोक, तमु, कलामयो, ताउनगीमा दसैं मनाइन्छ ।

वर्मापछि वंगलादेशमा पनि दसैं मनाइन्छ । १६ करोड जनसंख्या भएको वंगलादेशमा १४ प्रतिशत हिन्दु धर्मालम्बी छन् । हिन्दु धर्मालम्बीले नवदुर्गाको पुजा आरधना गर्छन् । वंगलादेश बस्ने नेपालीबाहेक अन्यले भने टिका लगाउँदैनन् ।

त्यस्तै बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको श्रीलंकामा पनि हिन्दुहरूले दसैं मनाउँछन् । त्यसैगरी मलेसिया, थाइलेन्ड इन्डोनेसियाका हिन्दुहरुले मनाउँछन् ।