१३ बैशाख २०८१, बिहीबार

ऐतिहासिक सफलता नेपालको साफ च्याम्पियनसिपमा

nepal 68

अन्तिम समयमा गोल गर्दै बंगलादेशसँग एक एक गोलको बराबरी गरेपनि नेपाली टिमले साफको इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भयो ।

साफ च्याम्पियनसिपमा नेपालले इतिहास बनाएको छ । लिग चरणको अन्तिम खेलमा अन्तिम समयमा गोल गर्दै बंगलादेशसँग एक एक गोलको बराबरी गरेपनि नेपाली टिमले साफको इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भयो । नेपाली समर्थकका लागि माल्दिभ्सबाट निकै सुखद खबर आएको छ ।

नेपालले खेलमा एक गोलले पछि परेको अवस्थामा खेल बराबरी गर्दै इतिहास बनायो । नेपाललाई हारबाट बचाउन अञ्जन विष्टले पेनाल्टीमा गोल गरे ।

माल्दिभ्सको माले रंगशालामा भएको खेलमा नेपाल सुरुवातमा नै एक गोल खान पुग्यो । खेलको दोस्रो मिनेटमा नै नेपालले फ्रिकिकको अवसर पाएको थियो । जसलाई सुजल श्रेष्ठले निकै फितलो प्रहार गरे ।

खेलको आठौं मिनेटमा सुमन गौतमले फल गरेपछि पाएको फ्रिकिकमा बंगलादेशले गोल गर्न सफल भयो । उसका लागि मोहम्मद सुमन रेजाले गोल गर्न सफल भए । डिबक्समा रेजालाई नेपाली खेलाडीले मार्क गर्न सकेनन् । जसका कारण फ्रिहेडर गोल गरे ।

१५ औं मिनेटमा नेपालले सुन्दर गोलको अवसर गुमायो । गौतम श्रेष्ठले डिबक्समा मिलाइदिएको बलमा रोहित चन्दको प्रहार पोष्टको निकैमाथिबाट बाहिरीयो । १९ औं मिनेटमा बंगलादेशका राकिबको प्रहार फ्रेम बाहिर रह्यो ।

२२ औं मिनेटमा बंगलादेशका सुमन रेजाले अर्को मौका पाएपनि त्यसलाई नेपाली गोलकिपर किरण चेम्जोङले बचाए । मोहम्मद इब्राहिमले मिलाएको बललाई दिनेश राजवंशीले क्लियन गर्न नसक्दा रेजाले प्रहार गर्ने मौका पाएका थिए ।

२४ औं मिनेटमा अञ्जन विष्ट प्रहार गरेको फ्रिकिक पोष्टको नजिकैबाट बाहिरीन पुग्यो । ३२ औं मिनेटमा नेपालले अर्को अवसर पाएको थियो । तर आयुष घलानले डिबक्समा पाएको अवसरलाई आत्मसाथ गर्न सकेनन् । अञ्जन विष्टले डिबक्समा मिलाएको बललाई आयुषले राम्रोसँग कनेक्ट गर्न सकेनन् ।

नेपालले पहिलो हाफ डरलाग्दो आक्रमण गर्न सकेन । त्यसको विपरित बंगलादेशले केहि मौका पाएपनि आत्मसाथ गर्न सकेन । यस्तैमा पहिलो हाफको अन्तिममा अञ्जन विष्टले पहेलो कार्ड पाए । यो प्रतियोगितामा उनले दोस्रो पहेलो कार्ड पाए । जसका कारण नेपालले खेल्ने फाइनल खेल अञ्जनले गुमाउने छन् । उनले यसअघि भारतविरुद्धकाे खेलमा पनि पहेँलो कार्ड पाएका थिए ।

पहिलो हाफका इन्जुरी समयमा नेपालका आयुष घलानले अवसर पाएपनि त्योपनि गुमाउन पुगे । रोहित चन्दको क्रसमा आयुष घलानको हेडर पोष्टको माथिबाट बाहिरीयो । जसका कारण नेपाल पहिलो हाफमा एक शुन्यले पछाडी पर्यो ।

दोस्रो हाफमा नेपालले केहि आक्रामक खेल खेलेको थियो । ४९ औं मिनेटमा आयुष घलानको फ्रिकिक प्रहारलाई बंगलादेशी गोलकिपर अनिसुर रहमानले पन्च गरे ।

५३ औं मिनेटमा नेपाल गोलको नजिकै पुगेरपनि चुक्न पुग्यो । अनन्त तामाङबाट आएको हेडर बललाई आयुष घलानले डिबक्समा गरेको हेडको प्रयासलाई बंगलादेशी गोलकिपर अनिसुरले उत्कृष्ट बचाउ गरे ।

त्यसको दोस्रो मिनेटमा नेपाल दोस्रो गोल खानबाट बच्यो । बंगलादेशका सुमन रेजाको प्रहारलाई गोलकिपर किरणले उत्कृष्ट बचाउ गरे । वन भर्सेस वनको अवस्थामा किरणले बचाएका थिए । ६४ औं मिनेटमा बंगलादेशका रेजाले गरेको प्रहारलाई फेरी किरण चेम्जोङले बचाए ।

६९ औं मिनेटमा गौतम श्रेष्ठको क्रमसमा रोहित चन्दले डिबक्समा गरेको हेडर पोष्टको नजिकैबाट बाहिरीदा नेपाली समर्थक चुकचुकाउन पुगे । ७२ औं मिनेटमा बंगलादेशका सुमन रेजाले लामो दुरीबाट गरेको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।

७५ औं मिनेटमा सुमन अर्यालको प्रहारमा मनिष डाँगीले हेडको प्रयास गरेपनि बंगलादेशी गोलकिपरले बचाए । ७८ औं मिनेटमा बंगलादेशी गोलकिपर अनिसुरले डिबक्स बाहिर आएर अञ्जन विष्टलाई फल गरेपछि सोझै रातो कार्ड पाएर बाहिरीएका थिए । जसका कारण नेपालले पाएको फ्रिकिकलाई पनि अन्तिममा बंगलादेशी गोलकिपर रानाले बचाए ।

८६ औं मिनेटमा नेपालले पेनाल्टी पायो । डिबक्समा अञ्जन विष्टलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जसलाई अञ्जन विष्टले नै गोल गर्न सफल भए । खेलको अन्तिममा गोल फर्काए ।

अब नेपालले फाइनलमा भारत र माल्दिभ्सको खेलबाट फाइनलमा पुग्ने टिमसँग खेल्नेछ । त्यसपछि पनि नेपालका मनिष डाँगीले अर्को मौका पाएपनि उनको प्रहार पोष्ट बाहिर रह्यो ।