
सत्तारूढनिकट तीन विद्यार्थी संगठनले मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनाको दोषी तत्कालीन सरकार भएको निष्कर्ष निकालेको छ।
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी यस घटनाको दोषी तत्कालीन सरकार भएको दाबी गरेका हुन् ।
मंगलबार जारी संयुक्त विज्ञप्तिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार र त्यसको अर्थमन्त्रीका कारण यो घटना भएको निष्कर्ष निकालेको हो।
तत्कालीन सरकारले गत फागुन २१ गते राज्य शक्तिको दुरूपयोग गरी औद्योगिक क्षेत्र स्थापना गर्ने नाममा १३३ बिघा जमिन अधिकरण नगर्दै त्यहाँ बसोबास गरिरहेका जनतालाई लखेटेको कारण घटना भएको संगठनको आरोप छ।
आइतबार रूपन्देही मोतीपुरको औद्योगिक क्षेत्रमा सुकुम्बासी र सुरक्षाकर्मीबीच झडप भएको थियो।
झडप हुँदा सुरक्षाकर्मीको गोली लागेर चार जनाले ज्यान गुमाएका थिए। झडपमा सुरक्षाकर्मीसहित कयौं घाइतेसमेत भएका थिए।
त्यस घटनाको मुख्य दोषीमाथि छानबिन गरी कडा कारबाही गर्न तीन संगठनले माग गरेको छ। साथै मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निः शुल्क उपचार गर्न समेत माग राखेको छ।
मोतीपुर क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासीको समस्या विलम्ब नगरी दीर्घकालीन समाधान गर्न पनि सरकारसँग विद्यार्थी संगठनले माग गरेको छ ।
