१५ चैत्र २०८०, बिहीबार

नौ दुर्गामध्येकी पार्वतीबाट जन्म लिएकी पाँचौँ स्कन्दमाताको आज पूजा आराधना गरिँदै

mata skanda

नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ । स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंसाहनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन शुक्रबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौथो दिन आइतबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।

पाँचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । गत वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले सबैजसो देवी मन्दिर बन्द गरिएको थियो । यस वर्ष भने जोखिम कम हुँदै गएकाले भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित मन्दिर भने खुला गरिएको छ । यस वर्ष नवरात्रको पहिलो दिनदेखि नै शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।

प्रशासनले कोरोना जोखिम कम देखिए पनि महामारी नहटेकाले कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जाने, खानपिन गरी दसैँ, तिहारजस्ता चाडपर्व मनाउन आह्वान गरेको छ । तीनै तहका सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेरमात्र चाडपर्व मनाउन आह्वान गरेका छन् । शक्तिपीठमा भक्तजनले मास्क लगाएपनि दूरी कायम हुन नसकेको मैतीदेवी मन्दिरमा पूजा आराधना गर्न पुगेकी दर्शनार्थी सविता सिग्देलले सुनाइन् ।