१२ बैशाख २०८१, बुधबार

‘नेपालीलाई विदेश लगेर बिचल्ली पार्ने दलालहरु होसियार रहनू’: श्रममन्त्री श्रेष्ठ

krishnakumar shrestha

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले सोझा नेपालीलाई वैदेशिक रोजगारको बहानामा विदेश लगेर बिचल्ली पार्ने दलालहरुलाई होसियार रहन चेतावनी दिएका छन् ।

मन्त्रालयको कार्यभार सम्हालेको दोस्रो दिन शनिबार गृह जिल्ला आएका मन्त्री श्रेष्ठले गर्जदै भने, ‘श्रम मन्त्रालय भन्ने वित्तिकै बद्नाम छ । वैदेशिक रोजगारीको सिलसिलामा विदेश लाने बहानामा विशेषगरी महिला दिदीबहिनीहरुको अस्मिता लुटिनेदेखि बिचल्ली पार्ने धेरै सुनेका छौं । खबरदार ! अब नेकपा समाजवादीको तर्फबाट किसान श्रेष्ठ श्रम मन्त्री भएर आएको छ । त्यस्ता दलालहरु होसियार ! अब त्यस्ता दिन आउने छैन ।’ सोझासाझा नेपालीलाई ठग्ने दलालहरुको दिन गएको उनको दाबी छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले रोजगारी गुमाएर स्वदेश फर्किएका करिब १५ लाख युवालाई रोजगारीको अवसर दिने मन्त्री श्रेष्ठको भनाइ छ । उनले गृह जिल्लाका बेरोजगार युवा र श्रमिकका लागि विशेष प्याकेज ल्याएर रोजगारीको बाढी ल्याउने उद्घोष गर्नसमेत भ्याए ।

उनले पदको लागि नभएर आफूले सर्वोच्च अदालतको सम्मान गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बताए । अगाडि थप्दै भने, ‘विश्वासको मत दिँदा किसान श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गर्‍यो पनि भने, गद्धार भने । आफ्नै पार्टी फुटाउन सर्वोच्चमा हस्ताक्षर गर्नेहरु गद्धार नहुने, किसान श्रेष्ठ श्रेष्ठ कसरी गद्धार भयो रु’ दुई पटकसम्म संसद विघटन गर्ने गद्धार भएको उनको भनाइ थियो ।

नेकपा एकीकृत समाजवादी पार्टी तनहुँले दशैँतिहारको अवसरमा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले संविधान जोगाएर सर्वोच्चको फैसलाको सम्मान गर्दा क्याविनेट मन्त्री भइन्छ भने किन नहुने भन्दै प्रश्न गरे । ‘क्याबिनेट मन्त्री हुँदा कल्ले हुन्न भन्छ र ? मन्त्री हुने हो यहीँ ठाउँको विकास गर्ने हो । तर मन्त्री खान गएको हैन । मन्त्री पद नै पछि लाएर आएपछि के गर्ने ?’ उनले प्रश्न गरे । केपी ओलीको प्रवृत्तिको विरुद्धमा विद्रोह गर्नुपर्ने स्थिति आएकाले पार्टी विभाजन गर्नपरेको उनको दाबी थियो ।