१३ बैशाख २०८१, बिहीबार

सडक बीचका विद्युतीय पोलले दुर्घटना बढायो

received 872978210089281 750x375 1

सडक बीचमा रहेका विद्युतीय पोलले सडक दुर्घटना बढेको छ ।

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न–४ स्थित ढलान गरि बनाइएको पक्की सडकमा रहेको ट्रान्सर्फमर र पोलका कारण दिनदिनै दुर्घटना हुने गरेको स्थानीयहरुले बताएका छन् । उक्त सडक भएर आवतजावत गर्ने साइकल, मोटरसाइकल, ट्रान्सर्फमर र पोलमा ठोक्किएर दुर्घटना हुने गरेका छन् ।

सवारीसाधनहरु मात्र नभइ उक्त टोलका दर्जनौं बालबालिका तथा ठुला ब्यक्तिहरुका साथसाथै पैदल यात्रुहरु गम्भीर घाइते भइसकेका छन् । मंगलबार दिउँसो सोही टोलका एक बालक विद्यालयबाट घर फर्कने क्रममा मलंगवा नपा वडा न–४ स्थित राम दर्शन रायको घर नजिक सडकको बिचमा रहेको ट्रान्सर्फमर जडान गरिएको पोलमा ठोक्किएर घाइते भएको छ ।

ट्रान्सर्फमरको पोलमा ठोक्किएर बालकको टाउको फुटेको उनका बुवा सिकिन्दर यादवले बताए । सडक बनाउने क्रममा पोलहरु नसारिदा अनाहकमा सवारीसाधन र पैदल यात्रुहरु ठोक्किएर दुर्घटनाको सिकार बन्ने गरेको स्थानीयहरुले गुनासो गरे ।

सडक बीचमा रहेका पोल हटाउन मलंगवा नगरपालिकाको कार्यालयले ६ महिना पहिल्यै नै बिद्युत प्राधिकरण कार्यालय मलंगवालाई पत्राचार गरिसकेको र सो कार्य वापत लाग्ने खर्च नगरपालिकाले प्राधिकरणको खातामा जम्मा गरिदिएको रकमबाट कट्टा गर्न भने पनि हालसम्म प्राधिकरणको मलंगवा वितरण केन्द्रका प्रमुख बिनोद यादवले पहल नगरेको सिकिन्दर यादवले आरोप लगाएका छन् ।

प्राधिकरणको यस किसिमको लापरबाही मलंगवामा मात्र नभइ जिल्लाका अधिकांश ठाउँमा भएको देख्न सकिने यादवले बताए । नगरपालिका तथा गाउँपालिकाले सडक बनाएर आफ्नो जिम्मेवारी पूरा गरे पनि बनाइएका सडकको बिचमा परेका पोलहरु नसारेर बिधुत प्राधिकरणले आफ्नो लापरबाही तथा गैरजिम्मेवारीपनको सबुत देखाएको भन्दै स्थानीयहरुले आक्रोश ब्यक्त गरेका छन् । पोलमा ठोक्किएर हुने दुर्घटनाको सम्पूर्ण जिम्मेवारी प्राधिकरणले नै लिनुपर्ने साथै क्षतिपूर्ति पनि दिनुपर्ने उनीहरूले भनेका छन् ।

    सम्बन्धित समाचार...