१४ बैशाख २०८१, शुक्रबार

पार्टी रक्षाको लागि जस्तोसुकै त्याग गर्न तयार छुः भीम रावल

BHIM RAWAL 12 20210330182219
फाइल फोटो

नेकपा एमालेका उपाध्यक्ष डा.भीमबहादुर रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । मंगलबार एमालेको जिल्ला पार्टी कार्यालयमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले रक्षाका लागि आफू पछि हट्न पनि तयार भएको बताएका हुन् ।

‘मलाई नेकपा एमालेको रक्षाको लागि कसैले पछि हट्दिनुहोस् भने जुनसुकै त्याग गर्न पनि तयार छु’ उनले भने ‘एमाले बचाउनका लागि म मात्र हैन, सबै कार्यकर्ताले त्याग गर्न तयार हुनुपर्दछ ।’ तर कसैले पाखा लगाउन खोजे परिणाम राम्रो नहुने उनको चेतावनी छ ।

उनले १० बुँदे सहमति कार्यान्वयन हुने समेत विश्वास व्यक्त गरेका थिए । नेकपा एकता प्रक्रियामा आएका माओवादी नेता तथा कार्यकर्ताहरूको समेत उचित व्यवस्थापन हुने रावलको भनाइ थियो । ‘१० बुँदे सहमति कार्यान्वयन हुनुपर्छ, सबै पार्टी कमिटी जेठ २ मा फर्किनु पर्छ’ उनले भने ‘एकता प्रक्रियामा माओवादीबाट आउनु भएकाहरूलाई सम्मानजनक स्थान लिने कुरामा दुईमत छैन ।’ उनले पदाधिकारी रहेका माओवादीबाट आएका नेता तथा कार्यकर्ताहरूको बिषयमा छलफलबाट टुङ्याउन सकिने बताए ।