१६ चैत्र २०८०, शुक्रबार

लप्सीफेदी टावरको सुरक्षा गर्न अमेरिकी आउनुपर्ने ?, ‘जबर्जस्ती एमसीसी पास भए राँको बल्छ’

241755050 179194394326553 1617316628397566219 n1631534149

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जबर्जस्ती लाद्ने प्रयास भइरहेको बताएका छन् ।

एमसीसीविरुद्ध सोमबार खुलामञ्चमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै विप्लवले सम्झौता नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र नेपाली जनताको हितविरुद्ध रहेको दाबी गरेका हुन् । सम्झौतामा लप्सीफेदी–रातमाटे–दमौली–बुटवल प्रसारण लाइन एमसीसीको सुरक्षामा रहनेलगायत थुप्रै राष्ट्रघाती प्रावधान रहेको भन्दै उनले आपत्ति जनाए ।

‘एमसीसीमा लप्सीफेदीदेखि बुटवल, गोरखपुरनजिकसम्म अमेरिकी सुरक्षा हुनेछ भन्ने छ । अमेरिकाको राष्ट्रिय सुरक्षाको निम्ति यो लागू हुनेछ भन्ने छ । अमेरिकी राष्ट्रिय सुरक्षा चुनौतीका लागि नेपाललाई प्रयोग गर्ने रणनीति छ । एमसीसीको कानुन लागू हुने भन्ने छ,’ उनले भने, ‘नेपालमा सेना, प्रहरी छैन लप्सीफेदी टावरको सुरक्षा गर्न ? अमेरिकीहरू आउनुपर्ने सुरक्षा गर्न ? कुन स्वाभिमानी नेपालीले मान्छ ?’

विप्लवले नेपालको सेना, अदालत जनतालाई दमन गर्नमात्रै हो भनेर प्रश्न गरे । ‘नेपालको कानुन अदालत छैन ? नेपालको अदालत र सेना जनतालाई दमन गर्न मात्रै हो ? क्रान्तिकारीहरूको विरुद्ध फैसला गर्न अदालत न्यायाधीश बनाइएको हो ? जनताविरुद्ध बनाइएको हो ?’ उनले प्रश्न गरे ।

विप्लवले पैसाले देश समृद्ध नहुने पनि बताए । ‘पैसाले समृद्धि हुन्छ ? अमेरिकाले दिएको ५० अर्ब दिएर कायापलट हुन्छ ? अमेरिकाले सित्तैमा पैसा दिँदैछ विरोध गर्नेहरू दुष्ट हुन् भने एकजनाले । तिनीहरू दलाल हुन्,’ उनले भने, ‘आज पैसा पैसा भन्ने कांग्रेसका साथीहरू पैसाले समृद्धि रोकिएको हो ? के पैसाले विकास हुन्छ ? पैसामात्रै भए हुन्छ ? पैसाले कहिल्यै पुग्दैन । अधिकार, स्वतन्त्रता र देश स्वाधीन हुनुपर्छ । विकास र समृद्धिको बाधक पैसा होइन, सत्ता हो । जनताको हातमा सत्ता भयो भने, जनता मालिक भयो भने पहाड बन्छ । नदी बन्छ । देश हराभरा बन्छ ।’

पैसाबाट समृद्धि हुन्छ भन्ने सोच दलाल कमिसनखोरको विकृत सोच भएको विप्लवको भनाइ छ । विप्लवले एमसीसी सम्झौताविरुद्ध बोलेकोमा एमाले उपाध्यक्ष भीम रावलको प्रशंसा गरे । ‘मुटुमा रगत भएको मान्छे लड्नुपर्छ । कायरहरू मात्रै हो डराउने,’ उनले भने, ‘भीम रावललाई भन्यौं । एमाले, माओवादीका कमरेडलाई भन्यौं । राष्ट्रवादी कमरेडलाई भन्यौं ।’

एमसीसीको ५० अर्बभन्दा एनसेलको ६२ अर्ब असुल्न माग
विप्लवले एनसेल एक्लैले ७२ अर्ब अपचलन गरेको भन्दै यसमा दलहरू नबोलेकोमा आपत्ति जनाए । ‘देश बनाउन एमसीसीको ५० अर्बभन्दा एनसेलको ६२ अर्ब असुल्नुपर्‍यो । ६२ अर्ब झार्नुको सट्टा अमेरिका ५० करोड डलर ल्याएर कमिसन खाने ? यस्ता दलालाई लखेट्नुपर्छ,’ उनले भने ।

उनले विकासका लागि नेपालमा पैसाको कमी नभएको पनि बताए । ‘अहिलेसम्म कति विदेशी अनुदान आयो कसले खायो रेकर्ड छ ? सरकारलाई कमिसन खाने चक्कर छ । पैसाको कमी नेपालमा होइन । संसदीय कोषको पैसा कटाएर विकास गर्ने हो भने पनि पुग्छ,’ उनले भने, ‘तर कमिसन खानु छ, विदेशीको पाउ मोल्नु छ, त्यस्तै परे परिवारै भाग्नुछ भन्ने सोंच भएकाले मरिहत्ते गरिरहेका छन् ।’

एमसीसी आयो भने राँको बल्छ
विप्लवले जबर्जस्ती एमसीसी लादिए प्रतिरोध गर्ने चेतावनी दिए । ‘एमसीसी आयो भने के गर्ने आज त संकेत मात्रै गरेका छौं । यो झिल्को मात्रै हो । केही पैसाको लोभमा जनताको टाउकोमा थोपर्न खोजियो भने झिल्को राँको बन्छ,’ उनले भने, ‘आज काठमाडौंमा झिल्को बालेर हिँडेका छौं । जबर्जस्ती लाद्न खोजियो भने तराईदेखि हिमालसम्म एकढिक्का हुनेछ ।’

एमसीसी सम्झौताका कारण नेपालीले उपनिवेश भएर बस्नुपर्ने अवस्था आउन सक्ने विप्लवको भनाइ थियो । ‘दलाल, साम्राज्यवादीहरू हाम्रो देश नियन्त्रण गर्न कब्जा गर्न आइरहेको छ । शेरबहादुर देउवा, गठबन्धन र एमाले नेताका कारणले भारतीयहरू ब्रिटिस साम्राज्यवादबाट १९० वर्ष उपनिवेशन बसेजस्तै नेपालीहरू पनि बस्न नपरोस् । त्यसका लागि एकजुट भएर पार्टीभन्दा माथि उठेर लड्नुपर्छ,’ उनले भने ।

विप्लवले सेना, प्रहरी, पत्रकार सबैमाथि अहिले स्वाभिमानी प्रश्न उठेको पनि बताए । ‘तपाईले देश रोज्नुहुन्छ कि एमसीसी ? जनता रोज्नुहहुन्छ कि अमेरिकी गुलामी ? पैसा रोज्नुहुन्छ कि स्वाभिमान ?’ उनले प्रश्न गरे, ‘हाम्रो पार्टी जुनसुकै मूल्य चुकाउन तयार छ ।’

विप्लवले आफूहरूमाथिको प्रतिबन्ध फुकुवा गर्दा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाए । ‘कार्यकर्ता छोड्छौं भन्यो । तर राज्यले आलटाल गरिरहेको छ । सहमतिअनुसार छोड्नुपर्छ । इमान्दारीपूर्वक छोड्नुपर्छ । सहमतिलाई हुबहु लागू गर्नुपर्छ,’ उनले भने ।