९ कार्तिक २०७८, मंगलवार

छुनै नसक्ने भयो हरियो तरकारी, एक महिनामा चारगुणा महँगो

tarkari 69

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आइतबारको मूल्य सूचीअनुसार पालुङ्गगो सागको खुद्रा मूल्य प्रति किलो न्यूनतम् दुई सय रूपियाँ छ भने अधिकतम मूल्य दुई सय पचास छ । मूल्य सूचिअनुसार पालुङ्गगो सागको खुद्रा मूल्य एक दिनमै पाचास रुपियाँको फरक छ ।

बेमौसमी तरकारीको मूल्य पनि बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उपलब्ध गराएको एक महिना अघि साउन २८ गते र आज आइतबार भदौ २७ गतेको औसत थोक मूल्य हेर्दा तरकारीको भाउ चार गुणासम्म बढेको हो ।

एक महिना अघि पच्चीस रुपियाँ पर्ने बोडीको मूल्य अहिले पैसाठ्ठी रुपियाँ पुगेको छ । पैसाठ्ठी रुपियाँमा पाइने काउली अहिले नब्बे रुपियाँ छ । लौका पच्चीसबाट बढेर चालीस पुगेको छ । तिते करेलाको २० रुपियाँबाट बढेर आइतबारसम्म असी रुपियाँ पुगेको छ ।

अदुवा, आलु (रातोरसेता), काउली स्थानीय, काँक्रो, खुर्सानी हरियो (अकबरे), गाजर लोकल, गोलभेडा सानो (टनेल), घिउ सिमी (लोकल हाइब्रिड र टाटे), घिरौंला लगायतका तरकारीको मूल्य बढेको छ । यसैगरी चमसुरको साग, निगुरो, तोरीको साग, रायोको साग, हरियो धनियाँ, चिचिन्डो, च्याउ (डल्ले), झिंगनी, तिते करेला, परवर (लोकल), प्याज हरियो, फर्सी (पाकेको हरियो) लगायतका तरकारीका मूल्य पनि बढेको समितिले जनाएको छ ।

गत साउन २८ गतेको तुलनामा आइतबार तितेकरेलाको प्रतिकेजी मूल्य चार गुणाले बढेको छ । साउनमा तिते करेलाको प्रतिकेजी मूल्य बीस रुपियाँ थियो ।अहिले बढेको मूल्य प्रतिकेजी ८० रुपियाँ छ । तने बोडी र घिरौंलाको प्रतिकेजी मूल्य तीन गुणाले वृद्धि भएको छ ।

लौका, लसुन हरियो, ब्रो काउली र हरियो धनियाँको मूल्य दुई गुणाभन्दा बढीले वृद्धि भएको छ । साउनमा लौकाको प्रतिकेजी मूल्य २५ रुपियाँ हुँदा आज भाउ बढेर चालीस रुपियाँ पुगेको छ । यस्तै हरियो धनियाँ तीन सय किलो पुगेको छ । लसुन सुकेको एक सय ७० र हरियो तीन सय रुपियाँ छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले प्रत्येक वर्ष यो सिजनमा तरकारीको भाउ बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो,“ यो सिजनमा तरकारीको भाउ बढ्छ नै बारीमा लगाएको तरकारी पानीले बिगार्छ र त्यसले बजारमा तरकारीको अभाव भएपछि भाउ बढ्छ ।” उहाँले कृषक तहदेखि नै भाउ बढेर काठमाडौँसम्म तरकारी पुगेकाले मूल्य बढेको बताउनुभयो । उहाँका अनुसार अहिले बजारमा आएको तरकारीको मूल्य केही मात्रामा बढेको हो ।

वर्षाका कारण कतिपय किसान लगाएका तरकारी बारीमै कुहिने गर्दा पनि तरकारीको मूल्य बढेको उहाँले बताउनुभयो । काठमाडौँमा दैनिक सात सयदेखि आठ सय टन तरकारी आइरहेको उहाँले जानकारी दिनुभयो ।