८ बैशाख २०८१, शनिबार

काठमाडौंका विद्यालय खोल्ने यसअघिको निर्णयमा पुनर्विचार गरिने

CDO KTM1616607651

कोरोना महारीको कारण बन्द रहेका काठमाडौंका विद्यालय खोल्ने यसअघिको निर्णयमा पुनर्विचार गरिने भएको छ ।

कोरोना जोखिम कायमै रहेको बेला विद्यालय खोल्ने कि नखोल्ने भन्ने विषयमा छलफल गर्न जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठक आज बस्दैछ ।

बैठकले यसअघि असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णयमा पुनः छलफल गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए ।

‘दिउसो ३ बजे जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकमा असोज १ गतेदेखि विद्यालय खोल्ने की तत्काल नखोल्ने भन्ने विषयमा छलफल हुन्छ’, रिजालले भने, ‘सदस्यहरूले जे सल्लाह दिनुहुन्छ त्यही आधारमा निर्णय गर्छौँ ।’

उनले सम्भवतः आजै ललितपुर र भक्तपुरमा पनि डिसिसिएमसीको बैठक बसेर विद्यालय खोल्ने विषयमा छलफल हुने खबर पाएको बताए । तीनवटै जिल्लाको डिसिसिएमसीको निर्णयपछि तीनै प्रमुख जिल्ला अधिकारीको बैठक बसेर यसबारेमा निर्णय गरिने पनि उनले जानकारी दिए ।

गत सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहित स्थानीय तहका शिक्षा समिति अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिहरूको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको थियो ।

बैठकले स्वास्थ्य अवस्थाको जोखिम हेरेर सम्बन्धित स्थानीय तहले विद्यालय खोल्ने निर्णय गर्न सक्ने निर्णय गरेको थियो । असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णयले अभिभावक र विद्यार्थीलाई अन्योलमा पारेको छ ।