११ बैशाख २०८१, मंगलवार

संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी कार्की सार्वजनिक

sankhuwasabha hatya 1

संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

चैनपुर इलाका प्रहरी कार्यालयले कार्कीलाई सार्वजनिक गरेको हो । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उहाँको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् । गत सोमबार ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती, ५२ वर्षीय छोरा तेजबहादुर, बुहारी ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, ११ वर्षीय नाति दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार लोकबहादुरले आफूमाथि भएको अपमानको बदला लिन तेजबहादुरको मात्रै हत्या गर्ने योजना बनाएका थिए । तर, हत्या गर्दा परिवारका अरू सदस्यले देखेपछि अन्यको पनि हत्या गरेको लोकबहादुरले प्रहरीमा बयान दिएका छन् ।

हिजो मात्रै उनले आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको तथा संघीय प्रहरी कार्यालयको टोलीले घटनाको अनुसन्धान गरेको थियो ।