८ बैशाख २०८१, शनिबार

मानव बेचबिखनको आरोपमा सिरहाबाट दुई महिला पक्राउ

IMG 20210911 WA0005

सिरहा प्रहरीले मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न रहेको आरोपमा दुई महिलालाई नियन्त्रणमा लिएको छ ।

१६ र १९ वर्षका दुई युवतीलाई भारततर्फ बेचविखनका लागि लाने क्रममा प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नरहा नगरपालिका–३ चोहर्वाबाट सप्तरी कञ्चनरुप नगरपालिका ११ बेङगरीकी २८ वर्षीया ललिता चौधरी र सिरहा धनगढिमाई नपा १ बाखैरकी ३५ वर्षीया उषा देवी मलाहलाई पक्राउ गरेको हो ।

उनीहरुले ती युवतीलाई लहान आश्रममा मासिक ५० हजारको दरले काममा लगाइदिने भनी बोलाएको प्रहरीले जनाएको छ । लहान आइसकेपछि यहाँभन्दा अझै राम्रो काम जनकपुरमा पाइन्छ भन्दै ल्याएका उनीहरुलाई चोहर्वामा नै ओरालेर माडरतर्फ लान ठिक पारेको बेला प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका दुवैमाथि मानव बेचविखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ । यसमा संलग्न अन्य अभियुक्तहरुकोसमेत खोजी भइरहेको प्रहरीले जनाएको छ । न्यूज कारखाना