६ चैत्र २०८०, मंगलवार

नेपालसहित १४ सांसद उपस्थित भए सभामुखविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने, एमालेले सदन चल्न नदिने

UML Samsadiya Dal

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरू सभामुखविरुद्ध आक्रामक तरिकाले प्रस्तुत भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासन गरेका १४ सांसद आजको बैठकमा उपस्थित भए सदन चल्न नदिने बताएका छन् ।

संसद भवन नयाँबानेश्वरमा बसेको सदीय दलको बैठकमा सांसदहरूले पार्टीले कारवाही गरेका सांसदको सूचना टाँस नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग्नु पर्ने बताएका छन् ।

नेकपा एमाले संसदीय दलको बैठकमा ओलीले भने, ‘सभामुखलाई हामी किन यस्तो गर्नु भयो भनेर सोधौंला, उहाँको स्पष्टीकरण आउला र त्यसको मूल्यांकन गरेर अघि बढौंला, गैरसांसदको उपस्थितिमा संसद चल्दैन । यदि आज हामीले कारवाही गरेको सांसद उपस्थित हुन्छन् भने हामी कसरी संसदमा बस्न सक्छौं ?’

एमालले गत साउन २५ गते माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामुखलाई दिएका थिए। उक्त सूचना अनुसार सांसदलाई कारबाहीको सूचना सभामुख अग्नि सापकोटाले प्रकाशित गरेका थिएनन्। त्यसबीच दल विभाजनसम्बन्धी अध्यादेश आएपछि सभामुख सापकोटाले सूचना प्रकाशन नगर्ने निर्णय गरेका थिए।

बैठकमा बोल्दै एमाले सांसद महेश बस्नेतले सभामुख सापकोटा र संसद विघटनविरुद्ध फैसला गर्ने न्यायाधीशहरुमाथि महाअभियोग लगाउनु पर्नेमा एमाले अग्रसत हुनुपर्ने बताउनुभयो ।

अर्का सांसद गोकुल बाँस्कोटाले सभामुख सापकोटाको राजीनामा माग्नु पर्ने बताउनुभयो । सांसद शिवमाया तुम्वाहाम्फेले सभामुखले गैरकानूनी काम गरेको आरोप लगाउँदै प्रतिनिधि सभा बैठकमा त्यसको विरोध गर्नुपर्ने बताउनुभयो ।

सांसद निरुदेवी पालले सापकोटामा सभामुखमा हुनु पर्ने चरित्र नै नदेखाएको आरोप लगाउँदै राजीनामा माग्नु पर्ने बताउनुभयो । सांसद भगवती न्यौपानेले सभामुखको विरोधमा आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्नु पर्ने माग गर्नुभयो ।

सांसदहरुले अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा पार्टीको धारणा मागेका छन् ।