१३ बैशाख २०८१, बिहीबार

झापामा क–कसले रोजे नेकपा (एस) ? कमजोर माधवको पार्टी, जनप्रतिनिधिले गरेनन् सनाखत

kp oli madhav nepal

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निकै कमजोर भएको छ । एमाले विभाजन भएर बनेको नेकपा (एस)को पक्षमा ‘हेब्बी वेट’ जनप्रतिनिधि देखापरेनन् ।

एमालेमा हुँदा नेपाल समूहमा खुलेर लागेका जनप्रतिनिधिले पनि नयाँ पार्टी गठन गरेपछि नेपालको साथ छाडेका हुन् । झापाबाट निर्वाचित एमालेका तीन प्रतिनिधिसभा सदस्यमध्ये तीनजना एमालेमै छन् । विगतमा माधव समूहमा खुलेकी क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेललेसमेत साथ छाडेकी छन् । यस्तै, प्रदेशसभामा निर्वाचित आठ सांसदमध्ये कसैले पनि माधव समूहको साथ रोजेनन् ।

यस्तै, निर्वाचन आयोगले सनाखतका लागि मंगलबारसम्म समय दिएको थियो । यो समयमा झापाबाट नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष कसैले पनि नेपाल पार्टीको पक्षमा सनाखत गरेनन् । झापामा १५ वटा स्थानीय तहमध्ये एमालेबाट आठजना नगर प्रमुख तथा गाउँपालिका अध्यक्ष छन् । यस्तै, ११ जना उपप्रमुख तथा गाउँपालिका उपाध्यक्ष निर्वाचित छन् ।

उनीहरूमध्ये कसैले पनि नेकपा (एस)को पक्षमा सनाखत गरेनन् । एमाले हुँदा अर्जुनधाराका नगरप्रमुख हरिकुमार राना नेपाल समूहमा खुलेर लागेका थिए । यस्तै, एमालेमा हुँदा जिल्ला समन्वय उपप्रमुख मिरा पराजुली घिमिरे नेपालको पक्षमा थिइन् । तर, उनले पनि पार्टी विभाजनसँगै नेपालको साथ छाडिन् ।

विगतमा ११ उपप्रमख/उपाध्यक्षमध्ये तीनजना नेपालको समूहमा थिए । भद्रपुरकी उपप्रमुख चन्द्रमाया श्रेष्ठ, बिर्तामोडकी उपप्रमुख पवित्रा महतरा प्रसाईं र शिवसताक्षीकी उपप्रमुख एमालेमा नेपाल समूहमा थिए । तर, नयाँ पार्टीको पक्षमा उनीहरूले अन्तिम समयसम्म सनाखत गरेनन् । उसो त झापामा नेपाल समूहका निकै खास मानिएका रविन कोइराला, नरेश खरेललगायतले पनि नेपालको नयाँ पार्टीको केन्द्रीय सदस्य पद अस्वीकार गरे ।

क–कसले रोजे नेकपा (एस) ?

निर्वाचन कार्यालय झापाकाअनुसार झापामा सातजना जनप्रतिनिधिले नेकपा (एस) रोजेका छन् । सनाखत गर्ने अन्तिम मितिमा सातजना जनप्रतिनिधिले नेपाल नेतृत्वको नेकपा (एस) रोजेका हुन् । नेकपा (एस)को पक्षमा शिवसताक्षी–७ का वडाध्यक्ष नवीन इजमले निर्वाचन कार्यालय झापामा सनाखत गरे ।

यस्तै, जिल्ला समन्वय समिति सदस्य पदम लिम्बू, झापा गाउँपालिका–७ की वडासदस्य ईश्वरी दाहाल, मेचीनगर नगरपालिका कार्यपालिका सदस्य लक्ष्मी पाख्रिन, अर्जुनधारा–६ का वडासदस्य अर्जुन मेचे, अर्जुनधारा– ३ का वडासदस्य होम दुलाल र भद्रपुर ९ का वडासदस्य कुञ्जा रुचाल रहेका छन् ।

एमाले अध्यक्ष ओलीको गृहजिल्लामा सातजना जनप्रतिनिधि आउनुलाई पनि उपलब्धी ठान्छन्, नेकपा (एस) झापा अध्यक्ष बेदराज रेग्मी । ‘यो त सुरुवात भएको छ । उहाँहरू (एमाले) एकजना पनि आउन नदिने तयारीमा हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँहरूको सबै दबाबलाई चिर्दै आउनुभयो ।’

रेग्मीले विगतमा माधव समूहमा खुलेका मेयर तथा उपमेयरलाई एमालेले मानसिक दबाब दिएर आउन नदिएको दाबी गरे । ‘विगतमा हामीसँग खुलेका साथीहरूलाई मानसिक दबाब दिएर आउन दिइएन’, उनले भने, ‘तर उहाँहरूले सनाखत नगरे पनि हाम्रो पार्टीमा काम गर्नुहुन्छ ।’