४ बैशाख २०८१, मंगलवार

प्रधानमन्त्री देउवाले भनेः एमसीसीबारे नबुझेकाले नबोल्नूस

sherabadhur
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता बुझेका सांसदलाई मात्र बोल्न निर्देशन दिएका छन् । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा देउवाले बुझेकालाई बोल्न र नबुझेकालाई नबोल्न निर्देशन दिए । ‘अघिल्ला सरकारहरुले पनि कानून बनाएर एमसीसीलाई अघि बढाउँदै आएका थिए’ उनले भने, ‘जुनसुकै सहयोग प्राप्त गर्दा पनि सर्तहरु हुन्छन् । एमसीसीबारे बुझेका सांसदहरु बोल्नूस, नबुझेका सांसदहरु नबोल्नूस ।’

मंगलबारै आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाले सकारात्मक जवाफ नदिए एमसीसी पास नहुने बताए । वाइसीएल केन्द्रिय समितिको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘‘अमेरिका सकारात्मक नभए एमसीसी पास हुँदैन,’ सत्ता साझेदार दोस्रो ठूलो दलका अध्यक्षसमेत रहेका प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ‘हामीले यसबारे अमेरिकालाई कूटनीतिक नोट पठाएका छौँ । यसको सकारात्मक जवाफ नआए एमसीसी पास हुने कुरा हुँदैन ।’ सरकारले हालै एमसीसीबारे उठेका विभिन्न ११ प्रश्न समावेश गरेर एमसीसीलाई पत्र पठाएको थियो । त्यसको स्पष्ट जवाफ आएपछि एमसीसी अगाडि बढाउने तयारी सरकारको छ ।