१५ बैशाख २०८१, शनिबार

लड्ने आँट कांग्रेसले गरेको छैन, माधव नेपालको पिउसो उफ्रन्छ : ओली

KP OLI Pokhara

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहले एमाले समाप्त पार्ने अभियान चलाएको बताएका छन् ।

मंगलबार पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ओलीले विपक्षीहरुले एमालेलाई एक्ले हेर्न समेत नसक्ने बताए । “आज देश जागेको छ । देश एउटा शान्तिपूर्ण आन्दोलन र संघर्षमा छ । एकातिर देशलाई बर्बाद पार्न खोज्ने तत्वहरु पनि सक्रिय छन्,” उनले भने,“विपक्षीहरुले एमालेलाई एक्लै हेर्न पनि सक्दैनन् लड्ने त कुरा त परकै भयो ।”

उनले एमालेसँग नेपाली कांग्रेस समेत लड्न डराइरहेको अवस्थामा माधवकुमार नेपालको प्युसोले लड्न सपना देखेको भन्दै त्यो सपना पूरा नहुने दाबी समेत गरे । “एमालेसँग कांग्रेस लड्न आँट गरेको छैन, माधव नेपालको पिउसो उम्रिन पाएको छैन एमालेसँग लड्ने सपना देख्छ,” ओलीले भने ।

उनले एमाले छाडेर हिँडेका माधव नेपाललाई बेसरम व्यक्तिको संज्ञा दिए । “एउटा अत्यन्तै बेसरम व्यक्तिको नेतृत्वमा अभियान चलेको छ,” उनले भने,“एक दुईवटा बिग्रिएका व्यक्तिहरु लागेका थिए । अहिले एमालेबाट चोइटिएर हिँडेका छन् ।”

उनले आफ्नो नेतृत्वको सरकार ढाल्न पाँच भाइ जम्म भन्दै देउसी खेलेको पनि बताए । “पाँच भाइ जम्मा भन्दै देउसी खेले, अहिले त जम्मा नै भए क्यारे ।”