२० मंसिर २०७८, सोमबार

एमाले अध्यक्ष ओलीले भने– यो सरकारको आयु बढीमा १५ महिना हो

kp oli

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आयू बढिमा १५ महिना भएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले १५ महिना पछि यो सरकारलाई खोजेर पनि भेटन नसकिने दावी समेत गर्नु भयो । राष्ट्रिय युवा संघ नेपालले आज काठमाडौंमा आयोजना गरेको बृहत युवा भेलामा बोल्दै उहाँले यो सरकारलाई नेपाली जनताले छिटोभन्दा छिटो विदा गर्नुपर्ने भन्दै पार्टीका युवाहरुलाई निर्वाचनको तयारीमा जुटन आह्वान गर्नु भयो ।

अध्यक्ष ओलीले वर्तमान सरकारलाई केही दिनको पाहुनाको संज्ञा दिँदै भन्नुभयो, ‘अहिलेको सरकार शास्वत होइन । यो सरकार अलिक दिनको मेजमान, पाहुना । बलजफ्ती आएको पाहुना । थोपरिएको पाहुना । षडयन्त्रबाट जन्मेको पाहुना । अवैध सम्बन्धहरुको उपज पाहुना । यसलाई नेपाली जनताले सकेसम्म छिटो विदा गर्नुपर्छ । तर छिटै विदा गर्न सकिँदैन भने पनि हतारिनु पर्ने केही छैन ।

अर्को मंसीरसम्ममा चुनाव गर्नुपर्छ । कति रह्यो विचार गर्नुस् त । भदौ गई गो, असोज, कार्तिक, मंसीर । अव १४ महिना रह्यो । अव १५ महिनामा त यो सरकारलाई खोजेर पनि भेटिँदैन । तपाईहरु सुत्नु भो भने त यस्ता सरकारहरु त बनिरहन्छन । तपाईहरु सुत्नु हुँदैन । तपाईहरु उठनु भो भने त यस्ता सरकारहरु विदा हुन्छन् । जनताको सरकार बन्छ । देशभक्त सरकार बन्छ ।’

अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्री मोदी र एमसीसीविरुद्ध नबोल्न सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाउँदै सोझै संविधानलाई चुनौति दिने गरी उर्दी जारी नगर्न पनि सचेत गराउनु भयो ।

जनताको बोल्ने स्वतन्त्रतालाई समेत बन्देज लगाउन निर्देशन दिएको भन्दै उहाँले यस्तो सरकारलाई मात्रै तानाशाहीको संज्ञा दिन सकिने तर्क समेत गर्नुभयो । अध्यक्ष ओलीले वर्तमान सरकारले आफ्ना नागरिक वेपत्ता हुँदा समेत भारतीय पक्षसँग कुरा गर्न नसकेको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘वर्तमान सरकार घरको बाघ, बनेका स्याल हो । अब त सोझै संविधानलाई चुनौति दिएर उर्दी जारी गर्ने ग-या छ । बोल्न पाइँदैन । अहिले नबोल्न निर्देशन दिइन्छ । अब बोलेका कार्वाही गरिन्छ भनेर थर्काइन्छ । म भन्न चाहन्छु–शासन दमनकारी हुन पाउँदैन । शान्तिपूर्ण, विचार स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रतता, शान्तिपूर्ण विरोध गर्ने स्वतन्त्रता, विरोध प्रदर्शनको स्वतन्त्रता त्यो खोस्न सक्दैन । त्यो बाटो लिन थाल्यो भने त्यसलाई भन्छ–तानाशाह ।

अध्यक्ष ओलीले एमालेलाई एक्ल्याएर देखाउन पनि सत्तारुढ गठबन्धनलाई चुनौति दिनु भयो । उहाँले चुनाव जति नजिक आयो, एमाले प्रवेश गर्नेहरु लहर बढेर जाने दावी गर्दै आफ्नो पार्टीलाई कसैले पनि एक्ल्याउन नसक्ने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘ एमालेलाई एक्ल्याएर ठेगान लाउँछौ भनेर धेरै ठाउँमा भन्ने ग-या छन् । एमाले कत्तिको एक्लिदैछ, आज देख्नु भएको नि, युवाहरु जोस । आज कति ठाउँ युवाहरु एमालेमा प्रवेश गरिरहेका छन । यो त एउटा ठाउँ, अन्य ठाउँमा दैनिक प्रवेश गरिरहेका छन । यो प्रवेशको लहर चल्दै जानेछ । जतिजति चुनाव नजिक आउँछ, त्यतित्यति एमाले प्रवेशको लहर चल्दै जान्छ । म किरणलाई भन्न चाहन्छु, महेशलाई भन्न चाहन्छु, टोपीहरु सिलाई राख्नुस । लाखौंलाख टोपीहरु सिलाई राख्नुस तर यस्तो सानो होइन, ठूल्ठूला पनि । तर टोपी सिलाई राख्नुस् । तोडदा नतोडिने, फोडदा नफोडिने एमाले बनाउनेछौ । एमाले एक्ल्याउने होइन । मजदुत बन्दै जादैछ ।’

अध्यक्ष ओलीले सरकारले कामै गर्न नसकेको भन्दै दर्जनौं प्रश्न गर्नु भयो । उहाँले राष्ट्रियताको सवाल, नागरिकको जीउधनको सुरक्षाको सवालमा छिमेकी मुलुकसँग बोल्ने आँट समेत सरकारले गर्न नसकेको पनि दोहोऔयाउनु भयो ।