१३ बैशाख २०८१, बिहीबार

‘फोर जी’ सेवालाई थप गुणस्तरीय बनाउँदै नेपाल टेलिकम

Nepal Telicome

नेपाल टेलिकमले फोर जी सेवालाई अझै गुणस्तरीय बनाउने बताएको छ । सोमवार पत्रकार सम्मेलनमा बोल्दै नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमको फोर जी सेवालाई अझ गुणस्तरीय बनाउने बताउनुभएको हो ।

अधिकारीले ५ जी सेवालाई परीक्षणमा लैजाने प्रक्रिया आरम्भ गर्ने पनि बताउनुभयो । प्रवन्ध निर्देशक अधिकारीले देशभरीको फाइबर बिच्छ्याउने कामलाई तीव्रता दिने पनि उल्लेख गर्नुभयो । आगामी दिनमा कोरोना संक्रमणका कारण टेलिकमको काम नरोकिने उहाँले बताउनुभयाे ।

प्रवन्ध निर्देशक अधिकारीले टेलिकमले कल ट्यापिङ गर्ने हल्ला भएको भन्दै हल्लाको पछि नलाग्न सबैमा आग्रह गर्नुभयो । टेलिकमसँग कल ट्यापिङ गर्ने उपकरण नै नभएको उल्लेख गर्दै उहाँले टेलिकमले कल ट्यापिङ नगरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कल ट्यापिङको उपकरण नै छैन । कल ट्यापिङ गर्ने एलआइ भन्ने उपकरण हुन्छ । त्यो उपकरण आयात गर्न दुरसञ्चार प्राधिकरणसँग अनुमति चाहिन्छ । हामी दुरसञ्चार सेवा प्रदायकले एलआइ इक्वीपमेन्ट किन्न पाइदैन ।’

उहाँले टेलिकमले सस्तो, गुणस्तरीय सेवा देशभरका सम्पूर्ण भेगमा पुर्याउने दायित्वको साथ काम गरिरहेको बताउनुभयो।