१९ बैशाख २०८१, बुधबार

ग्यास उद्योगले आइतबारदेखि विशेष डिलरमार्फत ग्यास बिक्री गर्ने

gas association 1

काठमाडौंमा खाना पकाउने ग्यास आपूर्ति सहज बनाउन आयल निगम र एलपी ग्यास उद्योग संघ मिलेर विशेष डिलरमार्फत ग्यास बिक्री गर्ने भएका छन् ।

आइतबार बिहान १० देखि बेलुकी ५ बजेसम्म उपभोक्ताले मागे जति ग्यास दिने गरी २२ उद्योगले विशेष डिलरमार्फत ग्यास बिक्री गर्ने निर्णय गरेका हुन् । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका डिलरबाट ग्यास वितरण गर्न लागिएको हो ।

‘जतिसुकै ग्यास वितरण गर्दा पनि अभाव टार्न सकिएन,’ भण्डारीले भने, ‘त्यसैले अब उपभोक्ताले मागे जति ग्यास दिन निश्चित डिलर परिचालन गर्ने निर्णय भएको छ ।’ उनका अनुसार नेपाल ग्यासले काठमाडौंको बालाजुस्थित बिएमसी कर्नर र अनामनगर स्टोर तथा ललितपुरको सातदोबाटोमा रहेको एसएन स्टोरबाट ग्यास उपलब्ध गराउनेछ ।

gas association

त्यस्तै सगर र चण्डी ग्यासले जडिबुटीमा रहेको बिक्री डिपोबाट ग्यास उपलब्ध गराउनेछन् । साल्ट टे«डिङ कर्पोरेसनले कालिमाटीस्थित केन्द्रीय कार्यालय र जडिबुटीस्थित शाखा कार्यालयबाट एसटिसी ग्यास दिनेछ । ओम ग्यासका उपभोक्ताले थली (डाँछी)स्थित आदर्श स्टोर र नैकापमा रहेको उत्सव खड्का स्टोरबाट ग्यास किन्न पाउनेछन् ।

बाबा, श्री र लुम्बिनी ग्यासका उपभोक्ताले कपनमा रहेको भद्रा फु्यूल सेन्टर र धुम्बाराहीमा रहेको इलाइड सिलअगाडीबाट खरिद गर्न पाउनेछन् । एचपी ग्यासले अशिम किचेन एण्ड सप्लार्स, सिद्धार्थ ग्यासले इमाडोलस्थित केसी एलपी ग्यास सप्लायर्स, श्रीमायाले सतुंगलस्थित कम्पनीको डिपो, लोकप्रियले नैकापस्थित भान्जा टे«डर्स, राजधानी ग्यासले सितापाइलास्थित बिक्री डिपो, सूर्य ग्यासले जगातीस्थित जोशी भिमसेन स्टोरबाट ग्यास बिक्री गर्ने जनाएको छ ।

त्यसैगरी गीता ग्यासले धुम्बाराहीस्थित टोयाटा शोरुम अगाडि, हिमाल ग्यासले भगवती बहालस्थित प्रयास ट्रेडर्स एण्ड सप्लायर्स, नमस्ते ग्यासले कोटेश्वर (मनोहरा)स्थित कुमार स्टोर, भानु ग्यासले गोंगबुस्थित लीला ग्यास डिपो, एभरेष्ट र सुगम ग्यासले सिफलस्थित ग्यास एण्ड अक्सिजन ट्रेड र श्रीराम ग्यासले हरिसिद्धि (ललितपुर)स्थित बिक्री डिपोबाट ग्यास बिक्री गर्ने जनाएका छन् ।

यी डिपोका साथै उपभोक्ताले घरनजिकै नियमित कारोबार गरिरहेको डिलरबाट समेत ग्यास पाउने उद्योगीले बताएका छन् । ‘डिलरबाट चाहेको समयमा छिटो ग्यास पाउन नसकेका उपभोक्ताका लागि विशेष डिलरबाट ग्यास दिने व्यवस्था गरिएको हो,’ अध्यक्ष भण्डारीले भने, ‘उपत्यकाका सबै डिलरमा नियमित रूपमा उद्योगबाट ग्यास आपूर्ति भइरहेकाले उपभोक्ताहरूलाई धेरै नअत्तालिन आग्रह गर्दछु ।’

नयाँँ पत्रीका

    सम्बन्धित समाचार...