१४ बैशाख २०८१, शुक्रबार

बेलायतमा कोरोना भाइरसबाट एक नेपालीको निधन

corona

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु भएको छ।

पूर्व गोर्खा सैनिक ६६ वर्षीय लीलाबहादुर राईको मृत्यु कोभिड १९ बाटै भएको पुष्टि उनी उपचार गराइरहेको अस्पतालले शुक्रबार दिएको छ।

उनी सपरिवार लण्डनको उत्तरपश्चिमको ह्‌यारो सहरमा बस्दै आएका थिए। बेलायतबाट प्रकाशित हुने वीनेपाली डट कमका अनुसार राईको निधनको तीन दिनपछि अस्पतालले परिवारलाई सम्पर्क गरेर उनको निधन कोरोना भाइरसका कारण भएको जानकारी दिएको थियो।

मधुमेह र उच्च रक्तचापबाट पीडित राईको दुई वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो। मंगलबार दिउँसो चार बजेतिर अचानक सिकिस्त भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। उनलाई सोही दिन साँझ आठ बजे चिकित्सकले मृत घोषणा गरे पनि शुक्रबारमात्र अस्पतालले मृत्युको कारण कोभिड १९ रहेको घोषणा गरेको थियो। अहिले राईको सबै परिवारलाई आइसोलेसनमा राखिएको छ।