१३ बैशाख २०८१, बिहीबार

पूजा गर्ने विषयले विवाद हुँदा झडप, घाइतेको हेलिकप्टरबाट उद्धार

beating
सांकेतिक तस्विर

डोल्पामा गुम्बामा पुजा गर्ने विषयमा दुई समुहबीच झडप हुँदा एक महिलासहित चार जना घाइते भएका छन् । जिल्लाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत वडा नं.४ कागकोटमा दुई समूहबीच झडप भएको हो । घाइतेमध्ये महिलाको अबस्था गम्भीर छ ।

झडपपछि भागदौडका क्रममा गाउँकार्यपालिका सदस्य पेमाछुजुङ रोकाया लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पामा प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिए ।

टाउकोमा चोट लागेर गम्भीर घाइते रोकायालाइ फिष्टेल यएरको हेलिकप्टरबाट जिल्ला अस्पतालमा ल्याएर प्रारम्भिक उपचार गरिएको थियो । टाउकोमा गम्भीर चोट भएकोले उनलाई काठमाण्डौ रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

घाइते अन्य तीनजनाको अवस्था सामान्य भएकाले अस्पतालमा उपचार भइरहेको छ । पाण्डेका अनुसार गुम्बाको पुजा एक समुहले पहिला गरेको भन्दै अर्को समुहले विवाद निकालेको थियो । विवादपछिको भागदौडमा रोकाया लडेर गम्भीर घाइते भएकी थिइन् ।

घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।