७ बैशाख २०८१, शुक्रबार

पर्वत पहिरोमा एकै परिवारका पाँचसहित १० जनाको निधन, एक जना बेपत्ता

parbat pahiro 1

पर्वतका विभिन्न स्थानमा गएको पहिरोमा परेर १० जनाको निधन भएको छ भने एक जना बेपत्ता छन् ।

कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोमा पुरिएका एकै घरका पाँच जनाको निधन भएको छ ।

कुश्मा नगरपालिका ३ दुर्लुङमा गएको पहिरोले घर पुरिँदा ७५ वर्षीया कौशिला पौडेल, उहाँकी बुहारी ३५ वर्षीया भगवती, दुई नातिनी १६ वर्षीया विमला र ११ वर्षीया विनिताका साथै ९ वर्षीय नाती विनोदको निधन भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

यसैगरी कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो खस्दा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका ७ की ३८ वर्षीया दुर्गा पौडेल र उहाँका ६ वर्षीय छोरा गणेशको पनि निधन भएको छ ।

यस्तै कुश्मा नगरपालिका ११ पकुवा ताल्चेमा बिहान खसेको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उहाँका तीन वर्षीय छोरा प्रयुषको निधन भएको छ ।

पहिरोमा मायाकुमारीकी सासू ७० वर्षीया डल्ली पाध्या पौडेल पहिरोमा बेपत्ता भएको प्रहरीले जनाएको छ । साथै पर्वतकै मोदी गाउँपालिका ५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षीया फूलमाया थापाको निधन भएको प्रहरीले जनाएको छ ।

पर्वतमा पहिरोका कारण आज बिहानैदेखि विद्युत् सेवा बन्द भएको छ । लामो समय बिजुली नआएका कारण टेलिफोन सेवा पनि प्रभावित भएको छ ।