१६ चैत्र २०८०, शुक्रबार

अन्यौलकाबीच आजदेखि शुरु हुँदै नेपाली कांग्रेसको १४‍औं महाधिवेशनको प्रक्रिया

nepali congress

अन्यौलकाबीच सत्तारुढ नेपाली कांग्रेसको १४‍औं महाधिवेशनको प्रकिया आजदेखि शुरु हुँदैछ । आजदेखि वडा अधिवेशन शुरु गरेर कांग्रेसले १४ औं महाधिवेशनको प्रक्रिया श्रु गर्न लागेको हो ।

कांग्रेसले विधानअनुसार सबैभन्दा तल्लो तहको संरचनाअन्तर्गत पर्ने वडा तहको अधिवेशन आजदेखि शुरु गरेर २३ गतेभित्र सक्ने गरी तयारी गरेको छ।

सदस्यता सार्वजनिक गर्न बाँकी र केन्द्रीय निर्वाचन अधिकृत तोक्न बाँकी रहेका जिल्लामा विस्तारै हुँदै जाने कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णचन्द्र पौडेलले जानकारी दिनुभयो ।

जिल्लामा हुने निर्वाचनको मिति भने प्रमुख निर्वाचन अधिकृत र जिल्ला नेतृत्वले सहमतिमा तोक्ने छन्। २७ गतेदेखि शुरु हुने पालिका तहका अधिवेशन ढिलामा २९ गतेसम्म सक्न निर्देशन दिइएको छ। सदस्यता टुंगिएर विवरण पुगेका जिल्लामा अधिवेशन शुरु हुनेछ ।

कांग्रेसले हालसम्म ५६ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको छ। क्रियाशील नाम सार्वजनिक भएका र निर्वाचन अधिकृत पुगिसकेका जिल्लामा पनि भदौ १९, २०, २१ गतेका लागि अधिवेशन तोकिएका छन्।

काठमाडौं, ललितपुर र भक्तपुरमा आज वडा अधिवेशन नहुने भएको छ। ललितपुरमा र भक्तपुरमा भदौ २१ मा वडा अधिवेशन हुनेछ भने काठमाडौंमा कहिले गर्ने टुंगिएको छैन। कांग्रेसले निर्वाचन अधिकृतसँग समन्वय गरी एकदुई दिन वडा अधिवेशन सार्न सकिने अधिकार दिएको छ।

भदौ २७ मा गाउँ–नगर अधिवेशन भएकाले त्यसअगाडि नै वडा अधिवेशन सक्नुपर्ने बाध्यता कांग्रेसमा छ। सहमति भएका वडामा मतदान गर्ने र मतदान सकिएलगत्तै गणना गर्नुपर्ने कांग्रेसको निर्देशिकामा उल्लेख छ।

१३ औं महाधिवेशनमा भन्दा यसपटक वडामा क्रियाशील सदस्यको संख्या दोब्बरभन्दा धेरै भएको छ। देशका ६ हजार ७ सय ४३ वडामा गरी कांग्रेसमा कूल ९ लाख क्रियाशील सदस्य छन्।

महाधिवेशनको मुखमा पार्टीभित्र अनेक समस्या देखिन थालेका छन्। महाधिवेशन रोक्न सर्वोच्च अदालतमा रिट परेको छ।

महाधिवेशन प्रतिनिधि एवं बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना संक्रमण बढिरहेका बेला महाधिवेशन स्थगित गर्न माग गर्दै सर्वोच्च अदालतमा हिजो रिट दर्ता गराउनु भएको छ ।

यसैबीच काँग्रेसको १४ औं महाधिवेशन सम्बन्धी निर्वाचन निर्देशिकालाई थप समावेशी बनाइएको छ । नेता मीन बहादुर विश्वकर्माले निर्वाचन निर्देशिका असमावेशी भएको भन्दै केन्द्रीय सदस्य र दलित संंघको अध्यक्षबाट राजीनामा दिएपछि निर्देशिका सच्चिएको छ ।

हिजो साँझ वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा र जीवन परिवारले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँगको परामर्शपछि निर्देशिका सच्च्याइएको हो ।

अब महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपाङ्गता प्रतिनिधित्व थप सुनिश्चित गरिएको छ ।

अब कुनै पनि वडामा एक जना मात्र क्रियाशील सदस्य भएको अवस्थामा पनि कार्यसमिति सदस्य र क्षेत्रीय प्रतिनिधिमा हुने व्यवस्था गरिएको छ । यसअघि जनसंख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गरिएको थियो ।