१३ बैशाख २०८१, बिहीबार

आफ्नो अपराजित यात्रा इटालीले ३५ खेलसम्म पुर्‍यायो

italy

युरो कप विजेता इटालीले आफ्नो अपराजित यात्रा कायम राखेको छ । बिहीबार राति भएको खेलमा बुल्गेरियासँग अंक बाँड्दै इटालीले आफ्नो अपराजित यात्रा ३५ पुर्‍याएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता बनाएपनि इटाली १–१ गोल अन्तरको बराबरी खेल्दै अंक बाँडन बाध्य भएको थियो । विश्वकप छनोट अन्तर्गत युरोपेली छनोटको समूह ‘सी’को खेलमा इटालीले घरेलु मैदानमा बुल्गेरियासँग निराशाजनक बराबरी खेलेको हो ।

इटालीले स्पेनको अपराजित कीर्तिमानलाई बराबरी गरेको छ । खेलको १९ मिनेटमा फेडरिको चिएसाले इटालीलाई अग्रता दिलाएका थिए । तर, अतनास इलिवले खेलको ३९औँ मिनेटमा बुल्गेरियाका लागि बराबरी गोल फर्काए ।

बाँकी समय दुवै टोलीले जितको प्रयास गरेपनि तीन अंक हासिल गर्न असफल रहे । खेल इटालीले आफ्नो नियन्त्रणमा लिए पनि बुल्गेरियाका गोलरक्षक खेलमा नायक रहे ।

समूहमा इटाली १० अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको स्विट्जरल्यान्डको दुई खेलबाट ६ अंक छ । बुल्गेरियाको भने चार खेलबाट दुई अंकसहित तालिकाको चौथो स्थानमा छ ।