१२ बैशाख २०८१, बुधबार

भाग खोज्यो एमाले विभाजनसँगै एकीकृत समाजवादीले सम्पत्तिमा

madhav

नेकपा (एमाले) विभाजनसँगै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमालेसँग भएको सम्पत्तिमा पनि भागवण्डा खोज्ने भएको छ । दल विभाजन हुँदा सम्पत्तिमा लाग्ने हकदाबीबारे स्पष्ट कानूनी व्यवस्था नभएकाले दल दर्ता गरेर छुट्टिएको माधव नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले सम्पत्तिमा कानूनी दाबी गर्ने आधार खोज्न थालेको हो ।

काठमाडौं उपत्यकाभित्रै एमालेको बल्खुमा नौ रोपनी दुई आना जग्गा र त्यसमा रहेको भूकम्पले भत्काएको भवन, पुतलीसडकमा मनमोहन मजदुर भवनको नाममा जिफन्टको कार्यालय रहेको जग्गा र भवन, ललितपुर च्यासलमा तुलसीलाल स्मृति प्रतिष्ठान भवन र काठमाडौंको चम्पादेवीमा पुष्पलाल प्रतिष्ठानको नाममा रहेको भवन छ ।

एमालेका जिल्ला कमिटीसँग आफ्नै भवन छन् । औसतमा मूल्यांकन गर्दा पनि अहिले एमालेको भौतिक सम्पत्ति मात्रै कम्तीमा पाँच अर्बमाथि पुगेको छ भन्ने अनुमान गरिन्छ । पार्टी एकताताका एमालेको खातामा चार करोडभन्दा माथि नगद रहेपनि एकता भंग भएर एमालेसमेत पुनर्गठित भएपछि एमालेले बैंकमा रहेको अन्तिम मौज्दात निकालिसकेको छैन ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले छुट्टिएर गएको दलले पार्टीको सम्पत्तिमा दाबी गर्न नमिल्ने बताउँछन् । देशभरीको सम्पत्ति विवरण र देशभर पार्टी कार्यालयको खाताको विवरण केन्द्रिकृत भइसकेपछि देश–विदेशमा रहेका जोकोहीले एमालेको सम्पत्ति जान्न पाउने गरी वेबसाइटमा अभिलेखीकरण गर्ने एमालले जनाएको छ ।

तत्कालीन नेकपा माओवादी विभाजन हुँदा मोहन वैद्यको नेतृत्वमा अलग्गिएको पार्टीले माओवादीसँग रहेको सम्पत्ति सहमतिको आधारमा भागवण्डा लिएको थियो । यसपटक माधव नेतृत्वको पार्टीले एमालेसँग अंश लिनेगरी आन्तरिक छलफल थालेको छ । सो विषयमा कानूनी अस्पष्टता भएकाले कानूनी जानकारहरसँगको छलफलपछि निष्कर्षमा पुग्ने बताइएको छ ।