१३ बैशाख २०८१, बिहीबार

वर्तमान सरकारले भदौ २२ गतेपछि पूर्णता पाउँछ: यादव

swagart 750x375 1

सत्ता गठबन्धनका एक घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भदौ २२ गतेपछि वर्तमान सरकारले पूर्णता पाउने बताउनुभएको छ ।

बुधबार जसपाबाट दश जना प्रदेश सभा सदस्य लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेपछि बिहीबार जनकपुरधाम आउनुभएका अध्यक्ष यादवले जनकपुरधाम विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो ।

उहाँले निर्वाचन आयोगले भदौ २२ गते सम्म दल रोज्न समयसीमा दिएकाले त्यो सकिएपछि मात्रै सरकारले पूर्णता पाउने विषयमा गठबन्धनका दलहरुबीच सहमति भइसकेको बताउनुभयो ।

उहाँले लोकतन्त्र विनाको कुनै पनि समाज आजको युगमा समृद्ध नभएको भन्दै संघीय गणतन्त्रलाई मजबुत बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले वर्तमान संविधानमार्फत् प्राप्त भएका उपलब्धीलाई संस्थागत गर्दै प्राप्त गर्न बाँकी रहेका विषयहरुलाई संसदीय र गैरसंसदीय अभ्यासमार्फत् संघर्ष गर्दै अधिकार प्राप्त गर्ने बताउनुभयो ।

प्रतिगमनका मतियारहरुवाट केही दिन अघि मात्रै लामो संघर्षपछि प्राप्त लोकतन्त्र र संघीयतालाई समाप्त पार्ने काम भएको र लोकतन्त्र झण्डै समाप्त हुने अवस्थामा गठबन्धनका दलहरुले लोकतन्त्रलाई जोगाउने काम गरेको र त्यसमा जसपा अग्रस्थानमा रहेको बताउनुभयो । उहाँले अझै पनि समाजमा विभेदको अवस्था कायम रहेको भन्दै विभेद मुक्त समाजको निमार्ण गरी समाजवादी लोकतन्त्रको दिसामा अगाडि बढ्नु पर्ने धारणा राख्नुभयो ।

जसपा अध्यक्ष यादवलाई जनकपुरधाम विमानस्थलमा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलगायतका मन्त्रीहरु स्वागत गर्न पुग्नुभएको थियो ।