११ बैशाख २०८१, मंगलवार

घरेलु मैदानमा भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल

Stadium

नेपालले आज भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल साँझ साढे पाँच बजे घरेलु मैदान दशरथ रंगशालामा हुने छ ।

फिफा वरीयतामा आफूभन्दा माथि रहेको टोलीमाथि जित निकाल्न त्यति सहज भने हुने छैन । बलियो टोली भारतविरुद्ध नेपाल जितको लक्ष्यका साथ मैदानमा उत्रिनेछ । फिफा वरीयतामा भारत १०५ औँ स्थानमा रहँदा नेपाल १६८ औँ स्थानमा रहेकाे छ । विगतलाई हेर्ने हो भने पनि यी दुई टोलीबीच निकै अन्तर रहेको छ । हालसम्म यी दुई टोलीले १९ खेलमा एक अर्काको सामना गर्दा भारत १३ र नेपाल २ खेलमा मात्र विजयी हुँदा ४ खेल बराबरीमा सकिएको छ ।

नेपाललाई घरेलु मैदानमा विगतलाई बिर्सँदै भारतमाथि जित हात पार्ने सुनौलो अवसर मिलेको छ । नेपालले कोरोना महामारीका बीच पनि घरेलु दर्शकको साथ पाउने भएको छ । आज हुने मैत्रीपूर्ण खेलमा ५ हजार १०० दर्शकले प्रवेश अनुमति पाएका छन् । उनीहरूले रंगशालामा प्रवेश गर्दा कोरानाको दुवै डोज खोप लगाएको वा परीक्षणमा नेगेटिभ आएको प्रमाण पेश गर्नु पर्नेछ ।