१५ चैत्र २०८०, बिहीबार

नारायणहिटीको ‘लाल बाकस’ खोज्नु प-यो !

Narayanhiti Palace Museum

संसदीय समितिमा नारायणहिटी दरबारमा मुलुकको महत्वपूर्ण काजजातसहितको दस्तावेज राखिने गरेको ‘लाल बाकस’को खोजी भएको छ । प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई विगतमा नारायणहिटी दरबारमा रहेको भनिएको ‘लाल बाकस’ बारे जिज्ञासा राखियो ।

सभापति रामनारायण बिडारीले भने, ‘“लाल बाकस खोज्नु प-यो, तत्कालीन राजाका सचिव चीरन शम्शेर थापाले हामीसँग मौखिक रुपमा भन्नुभएको छ, त्यो छ ।”

पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छोड्ने क्रममा विभिन्न निकायले सामानको जिम्मा लिए, ‘लाल बाकस’ पनि पुरातत्व विभाग मातहत राष्ट्रिय अभिलेखालयमा राख्न प्रमुखलाई खबर गरे तापनि बाकस भने नआएको बताइएको छ ।

तत्कालीन पुरातत्व विभाग र राष्ट्रिय अभिलेखालय प्रमुखलाई ‘लाल बाकस’ आउँदैछ, तयारी भएर बस्नु, त्यो भर्पाइ गर्नुपर्छ भनेर खबर गरिए पनि चिज नभएको तत्कालीन प्रमुखले संसदीय समितिलाई केही समयअघि जानकारी गराएका छन् ।

परराष्ट्र मन्त्रालयको जैशी कोठा र गुन्सी खानाका हाकिम र तत्कालीन परराष्ट्र मन्त्रालयका सचिवसमेतले मुलुकका सन्धि, सम्झौता, कानुनलगायतका महत्वपूर्ण सक्कली सबै काजगात दरबारमा अनिवार्यरुपमा बुझाएका कागजात ‘लाल बाकस’ मा राखिने गरेको जानकारी गराएका थिए ।

सभापति रामनारायण बिडारीले भने, “किम्वदन्ती मात्रै हो, त्यो बाकस पहिल्यैदेखि नै छैन भने त्यही कुरा गर्न प-यो, कि यहाँ छ भन्नु प-यो , होइन भने हरायो भन्नु प-यो । यो विषयमा सचिवको ध्यानाकर्षण गराएको हुँ ।”

समितिले हनुमानढोकास्थित बहुमूल्य बस्तु रहेको भनिएको बन्द घरमा के कति कस्ता सामग्री छन् खोलेर हेर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले हनुमानढोका दरबार क्षेत्रका भूकम्पछिको पुनःनिर्माणका क्रममा थुपारिएका पुराना तर महत्वपूर्ण काठलाई अस्रल्लरुपमा नछोडी यथाशीघ्र व्यवस्थापन गर्न पनि मन्त्रालय पदाधिकारीलाई निर्देशन दिएको छ ।

सभापति बिडारीले भने, “पन्ध्र दिनभित्र काठ व्यवस्थापनको काम गर्नु प-यो , त्यो काम फटाफट हुनु प-यो ।” समितिले केही समयअघि हनुमानढोका, नारायणहिटी, राष्ट्रिय पुस्तकालय, मृगस्थलीस्थित योगी नरहरिनाथ कुटीको स्थलगत अध्ययन अवलोकन गरेको थियो ।