१४ बैशाख २०८१, शुक्रबार

पार्टीले लिने मन्त्रालयको टुंगो छिटो लगाउन कांग्रेसको पौडेल पक्षको माग

Ramchandra Poudel
फाइल फोटो

सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीले लिने मन्त्रालयबारे छिटो टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिन थालेको छ ।

सत्तारुढ चार दलको शीर्ष तहमा मन्त्रालयको बाँडफाँटबारे छलफल चलिरहेका बेला पौडेल पक्षले पनि पार्टीले लिने मन्त्रालयको छिटो टुंगो लगाउन पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई दबाव दिने निर्णय गरेको हो ।

काठमाडौंको बोहोराटारस्थित वरिष्ठ नेता पौडेलको निवासमा बसेको पौडल निकट नेताहरुको बैठकले कांग्रेसले कति मन्त्रालय पाउने र त्यसबाट आफूहरुले कति पाउने भन्ने बारेमा छलफल गर्नु पर्ने माग गरेको छ ।

पौडेल पक्षले आफ्नो पक्षबाट जातीय, क्षेत्रीय सन्तुलन मिलाएर सरकारमा पठाउने निर्णय पनि गरेको छ ।

सरकार गठन भएको डेढ महिना हुँदा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद बिस्तार गर्न सक्नुभएको छैन ।