१३ बैशाख २०८१, बिहीबार

जयसिंह धामी प्रकरण छानबिन समितिको म्याद चौथोपटक थप्ने तयारी

ministar home

सरकारले दार्चुलाका जयसिंह धामी प्रकरणबारे छानबिन गर्न गठित समितिको म्याद चौथोपटक थप गर्ने तयारी गरेको छ ।

घटनाको अनुसन्धान र प्रतिवेदन लेखनको काम पूरा नभएको भन्दै गृह मन्त्रालयले अझै केही दिन म्याद थप गर्ने तयारी गरेको हो ।

गत १५ साउनमा तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले तार काटिदिँदा व्यास गाउँपालिका–२ का ३३ वर्षीय धामी बेपत्ता हुनु भएको थियो ।

घटनाको छानबिन गर्न साउन १७ गते १० दिनको म्याद दिएर मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । तर, समयसीमाभित्र समितिले प्रतिवेदन दिन सकेन । त्यसयता सरकारले समितिको म्याद तीन पटक थप गरिसकेको छ ।

यसैबीच हिजो बसेको सत्तारुढ गठबन्धनको बैठकमा विभिन्न दलका नेताहरुले घटनाबारे सरकारले अडान लिन नसकेको र प्रतिवेदन दिनसमेत ढिला गरेको भन्दै असन्तुष्टि जनाएका थिए । तर, सरकारले भने छिटो प्रतिवेदन दिनेभन्दा पनि समितिको म्याद थप गर्ने तयारी अघि बढाएको छ ।

छानबिन समितिमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य हुनुहुन्छ ।