१४ बैशाख २०८१, शुक्रबार

भीम रावलले भने: अगाडि धकेल्दा धकेलिने माधव नेपाल पछाडि फर्काउन खोज्दा फर्किनुपर्ने हो

1616752441 pic 1200x560 1
फाइल फोटो

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई जवाफ फर्काएका छन्। लामो समयदेखि नेपाललाई सहयोग गरे पनि नयाँ पार्टी गठन गर्ने बेला रावलले उनको साथ छाडेका थिए। १० स्थायी कमिटी सदस्यले आफ्नो साथ छाडेकोबारे शनिबार अध्यक्ष नेपालले अगाडि बढ्न धकेलेको तर पार्टी गठन गर्ने बेला भागेको भन्दै कटाक्ष गरेका थिए।

अध्यक्ष नेपालले उक्त अभिव्यक्ति दिएपछि उपाध्यक्ष रावलले आइतबार ट्वीट गर्दै जवाफ फर्काएका छन्। उनले माधवकुमार नेपालको नाम नलिई कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने भए पछाडि फर्काउन खोज्दा पनि फर्किनुपर्ने भनेका छन्।

‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो,’ रावलले भनेका छन्, ‘द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न। जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो।’

एमाले वरिष्ठ नेता नेपालले नयाँ पार्टी गठन गरेपछि रावलसहित १० स्थायी कमिटी सदस्यले साथ दिएका थिएनन्। उनीहरू १० बुँदे प्रस्ताव कार्यान्वयन हुने भन्दै एमालेमै सक्रिय भइसकेका छन्। नेपालले नयाँ पार्टी खोलेपछि दिइरहेका हरेक अभिव्यक्तिमा रावलले जवाफ फर्काउने गरेका छन्।