१४ बैशाख २०८१, शुक्रबार

वर्षकै ठूलो वर्षा: एक साता अझै वर्षा

badi

दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा भएको छ । यसअघि दुई महिनाको मनसुन अवधिमा पूर्वानुमान गरिएअनुसार सरदरकै आसपासमा वर्ष भएको थियो ।

तेस्रो महिनाको मध्यतिर आइपुग्दा नेपालमा यस वर्षकै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले औँल्याएको छ । शाखा प्रमुख मौसमविद् इन्दिरा कँडेलका अनुसार १३ वटा वर्षा मापनकेन्द्रमा अति भारी वर्षा भएको देखिएको छ । अति भारी वर्षा रेकर्ड भएका स्थान पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षा मापनकेन्द्र रहेका छन् ।

उहाँले दिनुभएको जानकारीअनुसार दुई दिनयता सबैभन्दा धेरै वर्षा नवलपुरमा भएको छ । त्यहाँको बतासास्थित वर्षा मापनकेन्द्रमा ४३४.२ मिलिमिटर वर्षा रेकर्ड भएको हो ।

एक साता अझै वर्षा

सक्रिय रहेको मनसुन मत्थर हुन अझै एक साता लाग्ने भएको छ । नेपालको सिमानामै रहेको न्यून चापीय रेखा तल नझरेसम्म मौसम सुधार हुने अवस्था नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जुलाई र अगस्ट महिना मनसुन उच्च रूपमा सक्रिय रहने महिना हो । सोही कारण पनि अगस्ट महिनाभर र सेप्टेम्बरको पहिलो सातासम्म पनि यो वर्षको मनसुन सक्रिय नै रहने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार शनिबारसम्म तराई केन्द्रित रहेको मनसुनी वर्षा अब नेपालको पूर्वी भेग र सुदूूरपश्चिम भेगमा थप सक्रिय बनेको छ । जसअनुसार अबको दुई दिन प्रदेश १ र सुदूरपश्चिम प्रदेशका विभिन्न भेगमा भारी वर्षा हुने आँकलन गरिएको छ ।

तराई छोएका जिल्लामा पनि वर्षा हुँदै रोकिँदै गरेर मनसुनले आफ्नो सक्रियता जनाउने भएको छ । साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली भेगका पहाडी इलाकाको केही स्थानमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ । अबको एक सातापछि मात्र मौसममा हल्का सुधार हुँदै जाने अनुमान गरिएको छ ।

बाढीपहिरोमा थप तीनको निधन

बाढीपहिरोमा परेर शनिबार तीन जनाको निधन भएको छ । अन्य दुई जना बेपत्ता र तीन जना घाइते भएका छन् । नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाका हस्तबहादुर पुलामीको घर पहिरोले पुरिँदा परिवारका तीन सदस्य बेपत्ता भएकामा उनीहरूको शव शनिबार भेटिएको हो । हस्तबहादुर भने घाइते अवस्थामा रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार बाढीपहिरोका कारण १७ घर क्षतिग्रस्त भएका छन् । साथै ३२७ स्थानीयलाई जोखिमपूर्ण स्थानबाट अन्यत्र स्थानान्तरण गरिएको छ । थप उद्धार राहत व्यवस्थापनका लागि सबै सुरक्षा निकायलाई परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, सिन्धुलीको गोलन्जोर गाउँका पूर्णबहादुर कार्की बाढीमा बगेर बेपत्ता हुनुभएको छ । उहाँको खोजतलास जारी छ ।