
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिले अनशन तोडेका छन् ।
पार्टी कार्यालय सानेपामा रिले अनशनमा बसेका सभापतिहरुलाई क्रियाशील सदस्यता विवाद टुंग्याउन बनेको कार्यदलका सदस्यहरु कृष्णप्रसाद सिटौला, मिनेन्द्र र रमेश लेखक अनशनस्थल आएर सम्बोधन गरेपछि जुस खुवाएर अनशन तोडाउनुभएको हो ।
भदौ ९ गतेदेखि पौडेल पक्षका जिल्ला सभापतिले २४ घण्टे रिले अनशन शुरु गरेका थिए । नेपाली कांग्रेसले तोकिएको मितिमै देशैभर वडा अधिवेशन गर्ने गरी नेताहरुबीच सहमति जुटेको बताइएको छ ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि कृयाशिल सदस्यका विवाद समाधान गर्दै सबै जिल्लाको नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरूले राखेका मागहरु सम्बोधन गर्नेे र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले बताउनुभयो।
५३ जिल्लाका कृयाशील सदस्यको नाम सार्वजनिक भएको र अरु जिल्लाको एक/दुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ। यस्तै सहमतिमा एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरी जिल्ला सभापतिको उम्मेदवार बन्न पाइनेछ। क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउने विषयमा सहमति जुटेको केसीले बताउनुभयो ।