१३ बैशाख २०८१, बिहीबार

अध्यक्ष ओली भने: रुखमा नयाँ–नयाँ पालुवा पलाइरहेका छन्

20213151716 kp oli home

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताउनुभएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर कमिटी, वडा कमिटी र अखिल नेपाल महिला सङ्घको घोषणा कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदै छन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।”

अध्यक्ष ओलीले एक दुई वटा पात खस्दैमा रूखलाई फरक नपरे जस्तै पार्टीमा विभाजन गरी कोही जाँदैमा फरक नपर्ने बताउनुभयो ।

“पार्टीका केही मानिसलाई मैले धेरै सम्झाउन र बुझाउन कोसिस गरेको थिएँ,” उहाँले भन्नुभयो, “एमालेलाई ध्वस्त पार्छु भनेपछि त्यस्ता मानिसलाई सम्झाएर र बुझाएर सकिँदैन ।”

अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफू विरुद्ध भएको षडयन्त्रको एकमुष्ट जवाफ दिने उल्लेख गर्दै मुलुकलाई पछौटेपनबाट आधुनिक, अविकसितबाट विकसित, कृषिको व्यावसायिकीकरण, उद्योगको आधुनिकीकरण, डिजिटल नेपालको परिकल्पनालाई साकार पार्ने काम अब एमालेले गर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य महेश बस्नेतले पार्टी विभाजन गरी कोही गए पनि फरक नपर्ने बताउनुभयो । रासस